एलादीमा महोत्सव शुरु , होमस्टे समृद्धिको आधार : मन्त्री अर्याल

प्रकाशित मिति:

स्याङ्जा—१७ पौष  ,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मुलुकको विकासका लागि होमस्टे संचालन गर्दै समृद्धि तर्फ उन्मुख हुनुपर्नेमा जोड दिएकी छन् । गण्डकी प्रदेश स्तरीय प्रथम क्यानोनीङ, सुन्तला तथा साँस्कृतिक महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री अर्यालले होमस्टे मार्फत मुलुकलाई समृद्धिको आधार तर्फ लैजानुपर्ने बताएकी हुन् । उत्पादनलाई जोड दिदै होमस्टे संचालन गरेर अगाडी बढाउन सकियो भने सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपाली नार सार्थक हुने मन्त्री अर्यालको भनाई थियो । मुलुकलाई अब आर्थिक सगँ जोड्नु आवश्यक छ मन्त्री अर्यालले भनिन्,“माटो सुहाउदो खेती र होमस्टेलाई प्रथामिकता दिनुपर्छ ।” सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि पनि उत्पादन र होमस्टेलाई प्रथामिकतामा राख्नु पर्छ मन्त्री अर्यालले भनिन् ।  सरकार नागरिकको शिक्षा, स्वास्थ्यलाई प्रथामिकतामा राखेर काम गरिरहेको छ मन्त्री अर्यालले भनिन्,“नागरिकले पनि मुलुकलाई समृद्ध बनाउन सहयोग गर्नुपर्छ ।” जग्गाजमिन बाँझो राखेर सरकारलाई सहयोग हुदैन भन्दै मन्त्री अर्यालले माटो सुहाउदो खेती लगाउन आग्रह गरिन् । परनिर्भरताले मुलुकका जनतालाई गाँजेको उल्लेख गर्दै मन्त्री अर्यालले जसले बाँझो जमिन राख्ने उसलाई सरकारले निगरानी राख्ने धारणा व्यक्त गरिन् ।

सुन्तलाबारी होमस्टेले परिचित रहेको वालिङ ४ एलादी खाल्डे गाँउले होमस्टे मार्फत गाँउको परिचय दिन सफल भएको प्रति प्रंशसा मन्त्री अर्यालको थियो । होमस्टेको बाँकी पुर्वाधार बनाउन आवश्यक रहेमा सरकारले सहयोग गर्ने प्रतिवद्धता मन्त्री अर्यालको छ । क्यानोनीङ खेललाई महत्व दिएर आयोजना गरिएको महोत्सवले बाह्रय र आन्तरिक पर्यटक भित्राउन सहज हुने भन्दै मन्त्री अर्यालले खेलको अन्य पुर्वाधार बनाउन सरकार तयार रहेको बताईन् । कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहोन रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, वडा नम्वर ४ का वडा अध्यक्ष रनध्वज गुरुङ्, नेपाली काँग्रेसका वडा सभापति हरीकिसन गुरुङ, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, स्याङ्जा क्यानोनीङ तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक मोहन खनाल लगायतका बक्ताहरुले भ्रमण बर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको यो महोत्सवले एलादी गाँउ मात्रै नभएर वालिङ नगरपालिकालाई चिनाउने काममा सघाउ पुग्ने बताएका थिए । सुन्तलाबारी होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ्को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत खेमराज गुरुङ र संचालन यामकान्त खनालले गरेका थिए । महोत्सव १७ देखि २१ गते सम्म संचालन हुनेछ ।