भगवान श्रीकृष्ण गाई, मयूरको प्वाँख र बाँसुरीको सन्निकटमा रहनुको रहस्य के हो

प्रकाशित मिति:

भगवान श्रीकृष्ण द्वापरयुगका भगवान् हुन् । श्रीकृष्णलाई केही वस्तुहरु निकै प्यारा थिए । जुन वस्तुहरुबाट उनी कहिल्यै टाढा रहेनन् । भगवान श्रीकृष्णका लागि अत्यन्तै मनपर्ने वस्तुहरुमा गाई, मख्खन, मयूरको प्वाँख र बाँसुरी हुन् । आखिर भगवान श्रीकृष्णलाई यी चिज किन प्यारो भए त । बाँसुरी भगवान श्रीकृष्णलाई बाँसुरी अत्यन्तै प्रिय छ । किनकी बाँसुरीमा तीन गुणहरु हुन्छन् । पहिलो बाँसुरी भित्र आँख्ला हुँदैन जसले संकेत गर्छ आफुभित्र कुनै गाठो वा आँख्ला झै भाव नराख्नुहोस् । अर्थात मनमा बदलाको भाव नराख्नुहोस् । दोश्रो बाँसुरी नबजाई आफै बज्दैन । यसले अनावश्यक बोल्न वा विचार राख्न नहुने संकेत गर्छ । र तेश्रो बाँसुरी बज्दा मधुर तथा मिठो बज्दछ । यसले जब हामी बोल्छौं तब मीठो बोल्नुपर्ने संकेत गर्छ । यतिधेरै गुण सम्पन्न बाँसुरी भगवान श्रीकृष्णलाई मात्र होइन अब सवैलाई नै प्यारो लाग्छ । त्यसैले श्रीकृष्ण भगवाले बाँसुरीलाई सधैँ आफ्नो साथमा राख्ने गर्दथे ।

गाई  भगवान श्रीकृष्णलाई गाई पनि अत्यन्तै मनपर्ने जनावर थियो । यसको कारण यो हो कि गाई सबै कार्यका लागी उदार तथा समस्त गुणयुक्त मानिन्छ । गाईको गहुँत, गोबर, दूध, दही र घ्युलाई पञ्चगव्य मानिन्छ । मान्यता अनुसार यी वस्तुको सेवन गर्नाले शरीरको भित्र कुनै पनि पाप रहँदैन । साथै गाईको मात्र प्रदक्षिणा गरी प्रणाम गर्नाले सबै पापबाट मुक्ति मिल्ने तथा अक्षय स्वर्ग प्राप्त हुने विश्वास गरिन्छ । तसर्थ भगवान् श्रीकृष्णलाई गाई पनि निकै प्यारो लाग्ने गर्दथ्यो ।

मयूरको प्वाँख  भगवान् श्रीकृष्णको टाउकोमा मयूरको प्वाँख सधैँ हुन्थ्यो । मयूरलाई चिर ब्रह्मचर्य युक्त प्राणी मानिन्छ । प्रेममा सदैव ब्रह्मचर्ययुक्त महान् भावनालाई समाहित गर्ने प्रतिकका रुपमा श्रीकृष्ण मयूरको प्वाँख धारण गर्ने शास्त्रमा उल्लेख गरिएको छ । श्रीकृष्णले मुकुटमा धारण गर्ने गाढा रंगको मयूरको प्वाँखले दुःख र कठिनाई निवारण गर्ने र फिक्का रंगको भए सुख, शान्ति र समृद्धिको प्रतिक मानिन्छ । त्यसैले श्रीकृष्णले मयूर प्वाँख प्रिय मानेर धारण गर्थे।

कमलको फूल  कमलको फूल भगवान् श्रीकृष्णको सवैभन्दा बढी मनपर्ने फूल थियो । यसको सुन्दरता र सुगन्धले सबैको मन मोहित पार्ने गर्दछ । कमलको फूल हिलोमा फुल्दछ र यसले हिलोबाटै पोषण लिने गर्दछ । तर फूल सधैँ हिलोबाट अलग अर्थात माथि रहने गर्दछ । त्यसैले कमललाई पवित्रताको प्रतिक मानिन्छ । साथै कमलले यो सकेंत गर्दछ कि हामीले कठिनाईमा बाँचेर पनि सांसारिक र आध्यात्मिक जीवनमा सुखपूर्ण बाच्न जान्नुपर्दछ । त्यसैले श्रीकृष्णलाई कमलको फुल प्यारो लाग्थ्यो ।

मख्खन र मिश्री श्रीकृष्णलाई मख्खन र मिश्री अति प्रिय लाग्दथ्यो । मिश्रीको स्वाद मख्खनमा मिलाएपछि मख्खनको मिठास अझ बढ्दछ ।मख्खन आफैमा पनि स्वाद र पोषणयुक्त हुन्छ जसलाई मिश्रीले झन् मिठासपूर्ण बनाउने गर्दछ । मिश्री मख्खनको कणकणमा घोलिएर मख्खनको प्रत्येक हिस्सालाई अमृत समान स्वादिलो बनाउँछ ।मिश्रीयुक्त मख्खनले जीवन र व्यवहारमा प्रेमलाई अपनाउनु पर्ने सन्देश दिने गर्दछ । त्यसैले भगवान् श्रीकृष्णलाई मख्खर र मिश्री निकै प्रिय रहने गरेको शास्त्रमा उल्लेख गरिएको छ ।