आमाले भनेकी छिन् पैसा सकिए सडकमै सत्नु, उखुको भुक्तानी लिएरमात्रै आउनू

प्रकाशित मिति:

सम्राज्ञी भण्डारी काठमाडौं । उखु किसानलाई सरकारले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गराउने आश्वासन दिएको छ। तर उखु किसानहरू भने पैसा नपाउँदासम्म घर नफर्किने भन्दै आन्दोलनमै छन्।चार वर्षदेखि चिनी मिलले पैसा नदिएपछि सप्तरीका उखु किसान काठमाडौं पुगेका छन्। उनीहरूले १६ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्। उखुको पैसा नपाएपछि ऋण लिएर काठमाडौं आएका राजेन्द्र मण्डल खाने खर्च सकिएको बताउँछन्। ‘पाँच हजार ऋण लिएर आएको थिए, सकियो। अब त खाना खाने र सुत्ने पैसा पनि छैन,’ उनले भने। उनले साहुबाट ३६ प्रतिशत ब्याजमा ऋण लिएर उखु लगाएका थिए। दुःख गरेर तयार पारेको उखु चिनी मिललाई विक्री गरे। तर, चार वर्षसम्म उखुको पैसा पाएनन्। उखुको चार लाख रुपैयाँ भुक्तानी नपाएको उनले बताए। उखुको मिलले पैसा नदिएपछि उनले र्बोडिङ स्कुलमा पढिरहेका चार छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। साहु र बैंकबाट निकालेको ऋणको ब्याज तिर्न चार कठ्ठा जमिन बेचेको उनले बताए।

प्रहरी, स्थानीय सरकार र प्रदेश सरकारलाई गुहार्दा पनि ऋण लिएर लगाएको उखुको पैसा नपाएपछि उनी आन्दोलनका लागि काठमाडौं आएका हुन्। ‘बिहान बेलुका हातमुख जोर्न पनि गाह्रो भयो। सरकारले पैसा भराइदेला भनेर ऋण निकालेर आएँ,’ राजेन्द्रले भने, ‘सरकारले पनि हाम्रो पीडा सुनेन। ऋण निकालेर लिएको पाँच हजार रुपैयाँ सकिएपछि उनी घर फर्किने विचारमा थिए। यतिका दिन बित्दा पनि केही नभएपछि काठमाडौंले पनि उखुको पैसा दिलाइदेला भन्ने लाग्न छोडेको उनले सुनाए। दिक्क भएपछि उनले घर फर्किन्छु भनेर आमालाई फोन गरेका थिए। ‘आमाले पैसा सकिए, सडकमै सुत। उखुको पैसा नपाउँदासम्म घर नआउनु भनेकी छन्,’ फोनमा वृद्ध आमाले भनेको सुनाउँदै राजेन्द्रले भने, ‘सरकारसँग पैसा माग भनेकी छन्। उनलाई पनि पैसा नलिई घर कसरी फर्किनु भन्ने लागेको छ। चिनी मालिकबाट पैसा भराउन नसके सरकारले दिनुपर्ने उनको भनाइ छ। ‘मिललाई लाइसन्स सरकारले दिएको छ। हामीलाई त लाइसेन्स दिएको छैन। मिलले दिएन, अब मिललाई लाइसेन्स दिने सरकारले पैसा दिनुपर्छ,’ उनी भन्छन्। अर्का उखु किसान सिताराम महतो पनि पैसा नपाउँदासम्म घर नफर्किने बताउँछन्। ७४ वर्षीय सिताराम पनि ओहोरदोहोर गर्दागर्दै थाकिसकेका छन्। चिनजानका मान्छेको डेरामा बसेर माइतीघर ओहोरदोहोर गरिरहेका उनी काठमाडौंले पनि सहयोग नगरेको गुनासो गर्छन्। ऋण लिएर लगाएको उखुको पैसा नपाएपछि काठमाडौं आउनु परेको उनी बताउँछन्। ‘गाउँको सरकारले हाम्रो दुःख देखेन। केन्द्रको सरकारले देख्लाका कि भनेर आएका हौं,’ वृद्ध सिताराम भन्छन्, ‘यतिका दिनसम्म सुनेको छैन। पैसा फिर्ता नआए त कसरी घर जानुरु’

१६ दिनदेखि काठमाडौंमा रहेका उखु किसान पैसा फिर्ता नपाई घर नजाने बताउँछन्। चिनी मिल सञ्चालकले झै सरकारले पनि आश्वासन मात्रै दिन खोजेको उनीहरुको बुझाइ छ।बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुषालले उद्योग मन्त्रालयमा बोलाएर उखु किसानसँग छलफल गरेका थिए। उनीहरुले माघ ७ गतेभित्र पैसा फिर्ता गराउने आश्वासन दिएका थिए।तर, किसानले मन्त्रीहरुको आश्वासनलाई पत्याएका छैनन्। यसअघि पनि स्थानीय, प्रदेश सरकारका मन्त्रीहरुले पनि यस्तै आश्वासन दिएको उनीहरुले बिर्सेका छैनन्।बरु चिनी मिल संचालकले पनि मन्त्रीहरुलाई फकाएको उखु किसानको बुझाइ छ। तत्काल उनीहरुबाट पैसा फिर्ता नगराउँदासम्म घर नफर्किने उखु किसानले बताएका छन्। सरकार भने आफ्नो अडानबाट पछि हटेको छ। उखु किसानले माइतीघर मण्डलामा धर्ना दिन थालेपछि चिनी मिल संचालकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। तर, त्यसको एक सातापछि चिनी मिल संचालकबाट किस्ताबन्दीमा रकम भुक्तानी गराउने उखु किसानलाई आश्वासन दिएको छ। काठमाडौप्रेस वाट साभार