जबसम्म हिन्दीले मान्यता पाउँदैन तबसम्म नाकाबन्दी गर्न पनि पछी पर्दैनौ-राजेन्द्र महतो

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले हिन्दी भाषालाई राष्ट्र भाषाको मान्यता दिन माग गरेका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकलाई हिन्दीमा सम्बोधन गर्दै महतोले हिन्दी मधेसको सम्पर्क भाषा रहेको र यसलाई राष्ट्र भाषाको मान्यता दिनुपर्ने जिकिर गरे। ‘मेचीदेखि महाकालीसम्म मैथली, भोजपुरी, अवधी, थारु लगायत सबै मधेसका भाषाको सम्पर्क भाषा हिन्दी हो’, उनले भने, ‘मलाई राम्रोसँग नेपाली आउँछ। तर मान्यताका लागि, मान्यताको पहिचानको लागि बोलेको हो। आफ्नो भाषाको पहिचान र मान्यताका लागि बोलेको हो। जबसम्म मान्यता पाउँदैन बोलिरहन्छु।’

संसदमा महतोको सम्बोधन

नेपाली सबैभन्दा बढी बोलिने भाषा हो भने हिन्दी बढी बोलिनेमा १६ औं स्थानमा छ। हिन्दी हाम्रो सम्पर्क भाषा हो। सम्पूर्ण मधेसी, मधेस र पहाडको सम्पर्क भाषा हो।

नेपाली सम्पूर्ण नेपालीको मातृ भाषा होइन। शेर्पा, लिम्बु, तामाङ, राई, गुरुङ, भोटे, मगर सबैको आ आफ्नो भाषा तर सम्पर्क भाषा नेपाली हो। त्यसैगरी मेचीदेखि महाकालीसम्म मैथली, भोजपुरी, अवधी, थारु लगायत सबै मधेसका भाषाको सम्पर्क भाषा हिन्दी हो।

हिन्दी सबैको भाषा होइन, तर जब यो भाषाको रोष्टमबाट प्रयोग गर्छु तब सामाजिक सञ्जालमा तथानाम गाली दिइन्छ, मैले बुझ्न सकेको छैन। यसमा खोक्रो राष्ट्रवादी मानसिकता छोड्नुपर्छ। ‘सबको देश, सबै भाषाभाषीको देश’ भन्ने आफ्नो मान्यताको लागि बोलिरहेको छु।

मलाई राम्रोसँग नेपाली आउँछ। तर मान्यताका लागि मात्रै बोलेको। मान्यताको पहिचानको लागि बोलेको हो। आफ्नो भाषाको पहिचान र मान्यताका लागि बोलेको हो। जबसम्म मान्यता पाउँदैन बोलिरहन्छु। नागरिक न्यूज