विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्राप्त सिद्धार्थ क्याम्पसको खेलकुद सप्ताह समापन

प्रकाशित मिति:

बुटवल  – विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष १८ गते भब्य समारोहको आयोजना गरि खेलकुद सप्ताहको समापन गरेको छ । क्याम्पस प्रमुख बाबुराम पाण्डेको सभापतित्व एवं नव निर्वाचित ब्यवस्थापन समिति अध्यक्ष हिरा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा क्याम्पस सेवाबाट अवकाश हुनुभएका प्राध्यापक र कर्मचारीहरु लाई सम्मान समेत गरिएको थियोे ।

क्याम्पसका अतिरिक्त क्रियाकलाप समितिका संयोजक श्रीवत्स नेपालको संयोजनमा २०७६ पौष १४ देखि आयोजना गरिएका भलिबल, बास्केटबल, क्रीकेट, हाजिरीजवाफ, हिज्जे, निबन्धलेखन, वक्तृत्वकला लगायतका प्रतियोगितामा बिजयी र उत्कृष्ट प्रतियोगिहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा नेवि संघका इकाई सभापति महेश शर्मा , अखिल क्रान्तिकारीका इकाई अध्यक्ष काशीराम आचार्य र अनेरास्ववियुका इकाई अध्यक्ष शिवलाल वेल्बासे ले शुभकामना मन्तव्य राख्दै क्याम्पसको समग्र विकासमा विद्यार्थीहरुको समेत अतुलनीय योगदान रहेको एवं क्याम्पसले समग्र क्षेत्रमा गुणस्तर कायम गर्नुपर्ने बताएका थिए ।

पब्लिक क्याम्पस प्राध्यापक संघका कार्यबाहक अध्यक्ष शिवकुमार ज्ञवाली र निवर्तमान क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले आफ्नो मन्तव्यको क्रममा यस क्याम्पस देशकै नमुना सामुदायिक क्याम्पसको रूपमा विकसित भइरहेको र क्याम्पसबाट उत्पादित जनशक्ति विभिन्न संघसंस्थाका जिम्मेवार पदमा पुगेको बताउनु भएको थियो । सम्मानित सेवा निवृत संस्थापक प्राध्यापक एवं पुर्व क्याम्पस प्रमुखद्वय मुखिलाल चौधरी र कृष्णलाल जोशीले क्याम्पस स्थापनाकालदेखी हालसम्म भएका गतिविधिहरुको स्मरण गर्दै क्याम्पसले आफुहरुलाई गरेको सम्मानप्रती धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सहायक क्याम्पस प्रमुखद्वय रामनाथ उपाध्याय र रिता रेग्मीको सन्चालन एवं अतिरिक्त क्रियाकलाप समिति संयोजक श्रीवत्स नेपालको स्वागत मन्तव्य रहेको उक्त समारोहका प्रमुख अतिथि नव निर्वाचित ब्यवस्थापन समिति अध्यक्ष हिरा प्रसाद श्रेष्ठ एवं समारोहका सभापति क्याम्पस प्रमुख बाबुराम पाण्डेले क्याम्पसको भौतिक, शैक्षिक, प्राज्ञिक आर्थिक र सामाजिक सम्बन्धको विकासको लागि सरोकारवाला सम्पुर्ण पक्षहरुसंग समन्वय र सहकार्य गर्दै दीर्घकालीन रणनीतिक योजनाका साथ अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।