कुवेतमा ४२ जना नेपालीको एक वर्षमा मृत्यु

प्रकाशित मिति:

काठमाडौं– वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४२ जना नेपाली श्रमिकको एक वर्षमा मृत्यु भएको छ । रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार त्यसमा हृदयघात भई मृत्यु हुने कामदारहरुको संख्या १५ रहेको छ ।

मृत्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् । मृतकमध्ये सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ५, कार्यस्थलको दुर्घटना तथा आगलागीमा परि ४ जना, झैझगडा र सांघातिक आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्युको कारण नखुलेका कामदारको संख्या ७ रहेको दूतावासले जनाएको छ । मृतकमध्ये ३ जनाले आत्महत्या गरेका हुन् । कुवेतमा विभिन्न उद्योग र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् । झन्डै ७० हजार नेपाली कामदार रहेको कुवेतमा २५ हजार भन्दा बढी नेपाली महिला कामदार रहेको अनुमान छ ।