अष्ट्रेलियामा लागेको आगोले २ लाख ६४ हजार हेक्टर भस्म

प्रकाशित मिति:

काठमाडौं । अष्ट्रेलियामा अहिलेसम्मकै बढी तापक्रमका कारण बढेको आगलागीका कारण त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म आगलागीबाट २५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । १५ सयभन्दा धेरै घर जलेका छन् भने करोडौं एकड जमिन आगोले ध्वस्त भएको सीएननले उल्लेख गरेको छ ।४ दिनदेखि निरन्तर बढिरहेको आगलागी सम्पूर्ण राज्यशक्ति लाग्दा पनि नियन्त्रण हुन सकेको छैन । अहिले अष्ट्रेलिया सरकारले सर्वसाधारणलाई समुद्री किनारमा गएर बस्न आग्रह गरेको छ । केहीदिनदेखि दक्षिणपूर्वी अष्ट्रेलियाका मात्रै हजारौं बासिन्दा समुद्री किनारमा सरेका छन् ।मानव बस्ती र खेतीयोग्य जमिनलाई चारैतिरबाट आगोले घेरेको छ । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टका अनुसार आगलागीबाट अहिलेसम्म ५० करोड जनावर जलेका छन् । आगलागीले प्रभावितका लागि पानी, खाना र इन्धन वितरण गर्ने सेवा केन्द्रमा बुधबारदेखि सैनिक खटाइएको छ । सैन्य जहाज र विमानबाट सामान ओसारिएको न्यूयोर्क टाइम्सले जनाएको छ । बीबीसीका अनुसार अष्ट्रेलिया सरकारले आगो निभाउन एक करोड पाउण्ड छुट्याएको छ । आगलागीबाट क्षति भएकालाई दिने राहत र क्षतिपूर्ति अलग्गै छ ।

के के भयो क्षति  आगलागीबाट न्यू साउथ वेल्समा अहिले करिब १० करोड एकड जमिन जलिसकेको छ । एक हजार भन्दा धेरै घर नष्ट भएका छन् । दक्षिणी भेगमा रहेको भिक्टोरियामा करिब ६ हजार हेक्टर जमिन आगलागीबाट नस्ट भएको सिएनएनले जनाएको छ । टाइम्सका अनुसार अहिले जम्माजम्मी २ लाख ६४ हजार हेक्टर आगोले भस्म भएको छ । राजधानी क्यानबेरामा ८० वर्षपछिकै सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस पुगेको त्यहाँको मौसम विभागले जनाएको छ । पश्चिमी सिडनीको पेन्ड्रिथ उपनगरमा करिब ४८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ । आगो कत्तिको व्यापक छ सेप्टेम्बरको सुरुदेखि नै अष्ट्रेलियामा आगलागी विनाशकारी अवस्थामा पुग्ने अशुभ संकेतहरू देखिन थालेको न्युयोर्क टाइम्सले जनाएको छ । सेप्टेम्बरमा क्विन्सल्याण्डको पहाडमा रहेको ऐतिहासिक भग्नावशेष बिन्ना बुरा लजलाई आगोले नष्ट गरेको थियो । यसबाहेक अन्यत्र भने यसको असर कम थियो । तर, जनवरीसम्म आइपुग्दा यो अवस्था अष्ट्रेलियाको ठूलो भूभागतिर फैलियो । अहिले अष्ट्रेलियाका कूल ६ मध्ये ४ प्रदेश आगोबाट प्रभावित छन् । अष्ट्रेलियाको पूर्वी तटमा सबैभन्दा धेरै तातो छ । नोभेम्बरको सुरुतिर पनि ७० ठाउँमा लागेको आगो निभाउन १५०० भन्दा धेरै सैनिक र अग्नि नियन्त्रक परिचालन गरिएको थियो । तयारी अवस्थामा राखिएको तीन हजार सैनिकलँई पनि आगो निभाउने कार्यमा खटाउन लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।

किन लाग्यो आगो अष्ट्रेलियामा कसैले आगो लगाएको नभई जमिन नै धेरै तातो भएर सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रेकर्ड तोड्ने तापमान, विस्तारित खडेरी र कडा बतासका कारण आगलागी भएको बताइएको छ । डिसेम्बरको मध्यदेखि नै अष्ट्रेलियामा उष्णता बढ्दै गएको थियो ।अष्ट्रेलियाको इतिहासमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ । त्यहाँ तापक्रम ४० डिग्री भन्दा माथि पुगेपछि सरकारले समस्याग्रस्त घोषणा गरेर बिदा दिएको थियो । दक्षिण अष्ट्रेलियामा यो हप्ताभरि नै उष्णता जारी छ ।अष्ट्रेलियामा सन् २०१७ को सुरूदेखि नै न्यू साउथ वेल्स र क्विन्सल्याण्डका धेरैजसो ठाउँमा वर्षा अत्यन्त कम हुन थालेको थियो । खडेरीले देशको सबैभन्दा बढी उत्पादनशील कृषि क्षेत्रमा असर पारेको अष्ट्रेलिया सरकारले जनाएको छ । जसमध्ये धेरै खेती अहिले जलिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सीहरुको सहयोगमा अनलाईनखवरवाट साभार