सहमतिका विन्दु खोज्न कांग्रेस जिल्ला सभापतिहरूको आग्रह

प्रकाशित मिति:

काठमाडौं – संस्थापन पक्षसँग असन्तुष्ट रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बोलाएको जिल्ला सभापतिहरूको परामर्श बैठकमा बोल्ने सभापतिहरूले सहमतिको बिन्दु खोज्न र पार्टीका त्रुटिपूर्ण निर्णय भए सच्याउन सुझाव दिएका छन् ।
सभापति शेरबहादुर देउवालाई दबाब दिने र आफ्नो समूहलाई बलियो बनाउने उद्देश्यका साथ बोलाइएको सभापतिहरूको परामर्शमा बोल्ने सभापतिहरुले यस्तो सुझाव दिएका हुन् । सोमबार ४७ जिल्लाका सभापति उपस्थित भएका र १६ जनाले आफ्नो विचार राखेको जानकारी नुवाकोटका सभापति जगदिश्वरनरसिंह के.सी.ले दिनुभयो ।

सभापतिहरुको के राय सुझाव रह्यो त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, पार्टीलाई एकताबद्ध बनाएर जानुको विकल्प नरहेकाले सहमति र सहकार्यबाटै जानुपर्ने धारणा सबैको छ, त्यस्तै गएको स्थानीय तहबाटै पार्टीको विधान मिच्ने क्रम सुरु भएको र अहिले पनि त्यो जारी रहेकाले रोकिनुपर्ने सुझाव पनि आएको छ । वक्ताहरुले १४ औं महाधिवेशनको अगाडि पार्टीको विधान निलम्बन गर्नु उचित नभएको, पार्टी सभापतिले १३ औं महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरु गठन नगरेर अहिले विधानलाई नै निलम्बन गरे २८ बाट ४७ पुराउनुको ठोस औचित्य नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

कतिपय जिल्ला सभापतिले सभापति देउवामात्रै होइन वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाको कार्यशैलीको पनि खुलेर आलोचना गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना भनाइ राखेर निर्णयलाई परिवर्तन गर्न दबाब दिनुको सट्टा बैठक नै बहिष्कार गर्नु उचित नभएको, सभापतिले पार्टीलाई एक ढिका बनाएर लैजान थप पहल गर्नुपर्ने जस्ता सुझाव पनि राखिएको छ ।नभए गरिएका निर्णयहरु समयबद्ध रुपमा कार्यान्वयनमा लैजाने दिशामा अघि बढ्न पनि सुझाव दिएका थिए।

असन्तुष्ट पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका शीर्ष नेताहरुको उपस्थितिमा बोल्ने सभापतिहरुले विधान बमोजिम अघि बढ्ने भन्दा नेताहरु नै गुटगत आधारमा भागवण्डामा अल्झिएको भन्दै यसले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा नकारात्मक सन्देश गएकोले केन्द्र सच्चिनुपर्छ भनी दबाब पनि थिएका छन् ।

भक्तपुरका सभापति दुर्लभ थापालाई बैठकमा सहभागी हुनुभयो कि भनी राखिएको जिज्ञासामा उहाँले परामर्शका लागि भनेर सन्देश आएको थियो तर भेला भनिएकाले आफू बैठकमा नगएको बताउनुभयो । उहाँले नेताहरुले परामर्श लिन सक्नु हुन्छ तर विधानविपरीत सभापतिहरुको भेला बोलाउन मिल्दैन भन्नुभयो । परामर्श बैठकमा बोल्ने क्रम जारी रहेकाले मंगलबार बिहान ११ बजे पुनः बैठक बस्ने छ । सोमबारहको बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला भने उपत्यका बाहिर रहनु भएकाले उपस्थित हुनुभएन ।