आगलागीको समयमा अष्ट्रेलिया भ्रमणमा जानु कति सुरक्षित ?

प्रकाशित मिति:

एजेन्सी – अष्ट्रेलियाभर विभिन्न भूभागमा अनियन्त्रित रुपमा आगलागी भइरहँदा आसपासका क्षेत्र र छिमेकी मुलुकमासमेत धुँवा पुगेकाबारे सामाजिक संजालमा अधिक चर्चा भइरहेको छ । यसबीच घुमफिर या अरु नै कारणवश् आगामी हप्ताहरुमा त्यहाँ भ्रमणमा जान लागेकाहरु अहिले आफ्नो योजना रद्द गर्ने वा स्थगित गराउने भन्ने द्विविधामा परेका छन् । तर अष्ट्रेलियाका आधिकारिक निकायहरुले कुन ठाउँ जान लागेको हो त्यसैका आधारमा निर्णय लिन सबैलाई सुझाव दिएको छ ।

घटनाबारे सबैभन्दा पछिल्लो जानकारी दिँदै ‘ब्रिटिश फरेन एण्ड कमनवेल्थ अफिस’ ले भनेको छ, “अष्ट्रेलियाका विभिन्न क्षेत्रमा आगलागीका घटनाले झन गम्भीर रुप लिइरहेको छ । यसबीच कतिपय स्थानका निकायले आपत्कालीन घोषणा गरिसकेका छन् र सडक बन्द गराइ सबै मान्छेलाई खालि गर्न भनेका छन् । त्यस्तै आगलागी नभएका भूभागमा समेत धुँवका कारण हावाको गुणस्तर नराम्ररी प्रभावित भएको पाइएको छ । त्यसैले कोही आगलागीबाट प्रभावित क्षेत्रमा जाँदैछ भने रेडियो, टेलिभिजनमा नियमित समाचार हेरिरहने र सामाजिक संजाल मार्फत पनि हरेक समय अपडेट भइ सतर्क रहन हामी आग्रह गर्दछौँ र आपत्कालीन अवस्था आइलागेमा स्थानीय निकायहरुको निर्देशन पालन गर्न हाम्रो सुझाव छ । ”

अष्ट्रेलियाको पर्यटन विभागले शुक्रबार मात्र सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भने धेरै क्षेत्रहरु अझैपनि सुरक्षित अवस्थामै रहेको र अधिकांश पर्यटन व्यवसाय खुला नै रहेको उल्लेख गरेको थियो । यसबारेमा विभागकी कार्यकारी निर्देषक फिलिपा ह्यारिसनले भनेकी छन्, “हाल सबै पर्यटकीय क्षेत्र र स्थानीय समुदाय वरपर र्याली गर्न अधिक महत्वपूर्ण देखिएको छ जुन नराम्ररी प्रभावित भएका हुन सक्छन् । त्यसैले हामी सबै आगन्तुकहरुलाई यहाँ आउँदा सबैभन्दा पछिल्लो समाचार थाहा पइरहन सल्लाह दिन्छौँ र बदलिँदो अवस्थाबारे पनि जानकारी लिँदै भ्रमण गर्नुपर्ने हुन्छ ।”

अष्ट्रेलियाका सबै स्टेटमा आगलागी भइरहे पनि विशेषगरी न्यु साउथ वेल्स र भिक्टोरिया सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेका छन् जहाँ देशका दुई प्रमुख शहर मेल्बर्न र सिड्नी पनि पर्छन् । तर समुद्र छेउमा रहेका यी दुवै शहर अहिलेका लागि सुरक्षित ठहर गरिएको छ । अन्य प्रभावित क्षेत्रमा चाहिँ सरकारी अधिकारीहरुले थप आगो नियन्त्रक खटाइरहेका छन् । त्यस्तै पर्यटकहरुका लागि हावाको गुणस्तर पनि चिन्ताको विषय रहँदै आएको छ ।

यसका निम्ति भने विभिन्न ग्लोबल वेबसाइटले प्रत्यक्ष अपडेट दिने बताइएको छ । हाल सिड्नीको हावालाई ठीकै भनिएपनि आगामी दिनहरुमा अस्वस्थ हुन सक्ने अनुमान गरिएको छ भने यता मेलबर्नको हावा अहिले नै नराम्ररी प्रभावित भइसकेको जनाइएको छ । यसरी ‘भाइनयार्ड’ का लागि प्रख्यात दक्षिण अष्ट्रेलियामा पनि अधिक आगलागी भएको छ तर यसको राजधानी एडेलेड भने राम्रो अवस्थामा रहेको जानकारी दिइएको छ ।तर यता लोकप्रिय पर्यटन क्षेत्र कङ्गारु टापुमा भने ठूलो स्तरमा आगलागी फैलिएको छ । त्यस टापुका थुप्रै रिसोर्टहरुमा गम्भीर क्षति पुगेको बताइएको छ । उता क्वीन्सल्यान्डमा चाहिँ आगलागी नियन्त्रण्मा लिइएको र आगन्तुकहरुको सुरक्षा सुनिश्चित गर्न जोखिमपूर्ण स्थलमा सावधानीको बोर्ड राखिएको छ ।

यसको राजधानी ब्रीसबेनको हावाको गुणस्तरलाई एक्युआइले राम्रोको सूचीमा राखेको छ ।त्यस्तै पश्चिम अष्ट्रेलियामा पनि नोक्सान पुगेको छ तर यसको राजधानी पर्थ भ्रमणका लागि योग्य र सुरक्षित रहेको बताइएको छ । यसैगरी काकाडु नेस्नल पार्क र उलुरुमा पनि आगलागी रोकिएका छैनन् तापनि समस्त रुपमा सुरक्षित नै रहेको आधिकारिक निकायहरुको ठहर छ ।

यता तास्मानीयाको आगो भने नियन्त्रणमा लिइएको र स्थानीय समुदाय पनि जोखिम बाहिर रहेको बताइएको छ । पर्यटकहरुले सबैतर्फका अपडेट प्राप्त गर्न न्यु साउथ वेल्सको रुलर फायर सर्भिसले निर्माण गरेको ‘फायर्स नियर मि’ नामक मोबाइल एप प्रयोग गर्न सक्ने पनि बताइएको छ । अष्ट्रेलियामा गर्मीयाम भर्खरै मात्र सुरु भएको हुँदा अझै केहि महिना आगलागीका घटना बढ्न सक्ने बताइएको छ । जनवरी र फेब्रुअरीभर तापमान उच्च रहने गरेकाले पनि राहत पाउन अझै समय लाग्ने बताइएको हो ।

यसले त्यहाँको पर्यटन व्यवसायमा कत्तिको प्रभाव पारेको छ भन्ने प्रश्न गर्दा टुरिजम अष्ट्रेलियाकी ह्यारिसनले अहिलेका लागि सबैभन्दा पहिलो प्राथमिकता प्रभावित क्षेत्रका पर्यटकहरुलाई सुरक्षित राख्नु रहेको बताएकी हुन् । जसकारण यसले पुर्याएको कूल क्षतिको आंकलन लगाउन अहिले कठिन भइरहेको उनले बताइन् । वन जङ्गलमा अनियन्त्रित रुपमा फैलिएको आगलागीकै कारण अष्ट्रेलियामा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ५० करोड बढी जीवजन्तुहरु मारिएको अनुमान रहेको छ । त्यस्तै यसले देशभरका ६ वटै स्टेटमा गरि कूल १ करोड ४७ लखा हेक्टर जमिनमा क्षति पुर्याएको बताइएको छ । सीएनएन