जुम्लाको तापक्रम माइनस ५ डिग्री

प्रकाशित मिति:

जुम्ला – जुम्लामा फेरि हिमपात भएको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएकाे हो । गएकाे मङ्सिर महिनामा भारी हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ । यस पटक पनि भारी वर्षापछि हिउँ पर्न थालेको हो । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । हिउँ पर्न थालेसँगै स्थानीयका दैनिक क्रियाकलापहरु रोकिएका छन् भने त्यस क्षेत्रमा यातायात सेवा पनि अवरुद्ध भएको छ । यसैगरी हवाई यातायात ठप्प भएको छ ।

तापक्रम माइनस पाँच डिग्री तेस्राे पटक हिमपात भएसँगै जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ । आद्रता भने ६२ दशमलव ९ रहेको छ । यस पटक भने सबैभन्दा कम तापक्रम पुस १ गते माइनस ७ दशमलव २ डिग्रीमा झरेको थियाे ।

मौसम अनियमितताले अस्तव्यस्त हिउँ, पानी र बादलले एक सातादेखि अस्तव्यस्त जुम्लाको जीवनशैली चिसोले प्रभावित भएको छ । पर्याप्त मात्रामा हिउँ परेको भए पनि पटक पटक हिउँ परिरहँदा स्थानीयवासी दिक्क हुन थालेका छन् । मङ्सिर महिनामै झण्डै अढाइ फिट परेको हिउँ पग्लिन नपाउँदै पटक–पटक हिउँ परेपछि स्थानीयवासी हैरान भएका छन् । हिउँ पछिको चिसोले विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकाहरुमा रुघाखोकीको समस्या बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ ।

यसैगरी हिमपातले सरकारी कार्यालयका काम प्रभावित हुनुका साथै विकास निर्माणका काम पनि ठप्प भएका छन् । तापक्रम न्यून भएकाले पूर्वाधारका काममा कठिन भएको सम्बन्धित कार्यालयहरुले जनाएका छन् ।