विचार वा आस्थाको आधारमा दमन गर्नु गलत रहेको सरोकारवालाको जोड

प्रकाशित मिति:

बुटवल । नेपालमा मानवअधिकार तीव्र रुपमा उलङ्घन भइरहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । मानव अधिकारको संरक्षण राज्यले गर्नुपर्ने भन्दै विचार वा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको बताएका छन् । उनीहरुले न्यायालयको फैसला विपरित अदालतभित्रै हत्कडी लगाउनु स्वतन्त्र न्यायपालिकामाथि गम्भीर अपमान भएको समेत बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजनामा बुटवलमा भएको “मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता” बिषयक अन्तरक्रियामा वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग बुटवलका प्रमुख पवन भट्टले न्यायालय कानुनको सर्वोच्च निकाय भएको भन्दै तर न्यायालयले गरेका निर्णय वा फैसला सरकारले कार्यान्वयन गर्न नसकेको बताए । उनले संविधानका धाराहरुमा मानवअधिकार तथा प्रेस स्वतन्त्रताका सम्बन्धी सुनौला अक्षरहरु भएपनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले पछिल्लो पटक देशमा मानवअधिकारका जघन्य घटनाहरु घटेको भन्दै यसको सिकार सबैभन्दा बढी महिला तथा बालबालिका रहेको बताए ।

वरिष्ठ लेखक एवं अधिवक्ता दिल साहनीले मान्छेलाई सवैभन्दा प्यारो चीज अभिव्यक्ति स्वतन्त्रता हुने भन्दै यसको ग्यारेन्टी राज्यले गर्न नसकेको बताए । नेकपाका रुपन्देही जिल्ला सचिवालय सदस्य नवीनले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको बताए । शान्तिपूर्ण रुपमा सभा, जुलुस गर्न नपाउने राज्यको चरित्र फासीवादी भएको समेत बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले मानव अधिकार आम नागरिकको बिषय भएको भन्दै यसको संरक्षण राज्यले गर्नुपर्ने बताए । उनले नेकपाले उठाएको मुद्दा आधारभूत जनताको दैनिक जीवनसंग सम्बन्धित रहेको बताए । वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले मानवअधिकारको बिषयमा सरकार असफल भएको बताए । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले देशमा चारैतिर असन्तुष्टि फैलिएको बताउँदै मानव अधिकार सवैभन्दा कमजोर भएको बताए । राष्ट्रिय स्वाधीनताका लागी नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले अभिव्यक्ति स्वतन्त्रता मानव जीवनको जन्मसिद्ध अधिकार भएको भन्दै राष्ट्रियता र स्वाभिमानको पक्षमा बोल्दा अपमानित हुनुपर्ने अवस्था आउनु दुखद भएको बताए ।
बार एशोसियसन प्रदेश नं. ५ का प्रमुख षडानन्द भण्डारीले गणतन्त्रमा सबैभन्दा धेरै मानवअधिकार हनन् हुनु गम्भीर रहेको बताए । न्यायालयले गरेको निर्णय सरकारले कार्यान्वयन नगर्नु गलत भएको बताए । लेखक एवं पत्रकार सिद्विचरण भट्टराईले संविधान र सरकारवीच अन्तरविरोधी देखिएको बताए । देश भ्रष्टहरुको अखडा भएको भन्दै विचारको आधारमा नेकपा नेता कार्यकर्तालाई गिरफ्तारी गर्नु गलत भएको बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, प्रेस युनियनका रुपन्देही जिल्ला अध्यक्ष रेखा भुसाल, इन्सेक प्रतिनिधि रिमा बिसी, रोडाढुंगा व्यवसायी समितिका गोपाल ज्ञवाली लगायतले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोलेका थिए । केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता, महासचिव हिम विष्टको सञ्चालन र संगठनका रुपन्देही जिल्ला अध्यक्ष शिव डुम्रेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिले देशैभर अभियान सञ्चालन गरिरहेको छ । संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।