आयो विपिनको ‘सेल्फी किङ’ ट्रेलर (भिडियो)

प्रकाशित मिति:

काठमाडौँ /भर्सटायल अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पोस्टर र टीजर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्मको ट्रेलर इमोसनल र इन्गेजिङ छ । एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको फिल्ममा अभिनेता विपिन ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् ।ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिन कार्कीको जीवनमा आउने उतार चढावको कथा ट्रेलरमा देखाइएको छ । जोकर हुलियामा प्रस्तुत भएका विपिनले फिल्मको ट्रेलरमा बोलेका संवादहरु घतलाग्दा छन् । फिल्ममा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको निर्देशक विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका हुन् । दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह-निर्माता हुन् । सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ । फिल्मको कथा दिमागमा फुर्नुको कारण सम्झँदै निर्देशक विशालले भने ‘मैले एक पत्रिकामा एक चर्चित नेपाली हास्यकलाकारको आर्टिकल पढेको थिएँ । त्यहीँबाट ‘सेल्फी किङ’ को कथा जन्मिएको हो ।’ फिल्मले उठाएको कथा हरेक कलाकारको जीवनसँग मिल्न सक्ने उनले बताए ।