तीन बर्ष देखी बेपत्ता छोरा अझै भेटिएनन् , खोजी गरि दिन आमाको अपिल

प्रकाशित मिति:

भैरहवा

असोज, १३ ।

मदाने गाउँपालिका वडा नम्बर ४ म्यालपोखरी काभ्रा गुल्मीका ३४ वर्षिया छोरा दानबहादुर कुँवर २०७२ साल असार देखि सम्पर्क विहिन भएकोले आमा फत्तिकुमारी कुँवरले खोजी दिन सबै सँग आग्रह गरेकी छिन् । दानबहादुर नेपाली सेनाको सिपाइ पदमा रहेका थिए । सम्पर्क विहिन हुनुभन्दा पहिला उनी नम्बर २ विपद्गण उदयपुर गाईघाटमा कार्यरत थिए ।

२०७२ असारमा घर आएर उदयपुरको २ नम्बर गणमा जान भनी हिँडेका कुँवर अहिले सम्म सम्पर्कमा नआएको र आफन्तजनकोमा खबर गर्दा समेत कही कतै फेला नपरेको परिवार स्रोतले जनाएको छ ।

इलामको विनिता नाम गरेकी महिला सँग विवाह गरेका दानबहादुरको १० वर्षिया छोरी छ । श्रीमती विनिता र छोरीलाई ससुरालीमै छोडेर २०७२ सालको असारमा घर आएका दानबहादुर ८ दिन बसेर ड्युटीमा जान्छु भनी हिँडेका थिए । पारिवारीक सम्पर्कमा नआएपछि श्रीमती विनिताले उदयपुरको २ नम्बर विपद्गणमा बुझ्दा श्रीमान् दानबहादुरले जागिर छोडि हिँडेको भनी ससुरा निमबहादुरलाई फोन मार्फत् जानकारी गराएको परिवारले जनाएको छ ।

६२ वर्षिया बुवा निमबहादुर कुँवरका अनुसार बुहारी विनिताले दानबहादुर (श्रीमान्) घर सम्पर्कमा आउनु भयो कि नाई ? भन्दै बेला बेलामा फोन गर्ने गर्छिन् । बुबा निमबहादुरका अनुसार विनिता विहे गरे लगत्तै १५ दिन घरमा आएर बसेको र त्यस पछि माइतीमै बस्दै आएकी छिन् ।

उता घर परिवारलाई बुहारी इलामकी हो भन्ने मात्रै थाहा छ तर अन्य ठेगाना थाहा छैन र बुहारी विनिताले पनि आफू बसेको ठेगाना बताउँदिनन् ।

परिवारले निज दानबहादुर कुँवरलाई कोही कतै फेला परेमा नजिकको प्रहरी कार्यालयल वा घरपरिवारलाई सम्पर्क गरिदिनुहुनु अनुरोध गरेका छन् । सम्पर्क नम्बर बुवा ९८६७२०७०२९ र दाजु ९८०९७७१२५६ रहेको छ ।