पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी

प्रकाशित मिति:

काठमाडौं । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको दुवै उद्योगका सञ्चालकहरुले बताएका छन् । पशुपति विस्कुट उद्योगमा मंगलबार राति करिब ८ बजेदेखि लागेको आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।आगलागी भएको इलाका इटहरी प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट पाँच वटा वारुणयन्त्र पुगेका थिए । स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत खटिएका थिए । उद्योग सञ्चालकले लाखौंको क्षति भएको बताए पनि प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा पनि गएराति आगलागी हुँदा तयारी कपडा, मेसिनलगायत करोडौंको सामान जलेर नष्ट भएको सञ्चालकले बताएका छन् । उद्योगमा साँझ साढे छ बजे आगलागी भएको थियो । काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाइसकेको अवस्थामा उद्योगमा अचानक आगलागी भएको सञ्चालकले बताएका छन् । वीरगञ्ज महानगरपालिकाका २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको अग्नि नियन्त्रक शेर बहादुर कार्कीले बताए । बाटो साँघुरो भएका कारण बारुण यन्त्र आगलागी भएको स्थानसम्म लैजान समस्या भएको थियो ।