गणित विषय ऐच्छिकमा राखेको भन्दै गणित समाजको ध्यानाकर्ष

प्रकाशित मिति:

धनगढी – राष्ट्रिय पाठ्यक्रममा गणितको महत्व र उपयोगितालाई उपेक्षा गरी ऐच्छिकमा राखेको भन्दै नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पाठ्यक्रम विकास केन्द्रले विज्ञान तथा प्राविधिक लगायतका अन्य विषयहरू पढ्ने विद्यार्थीहरूले गणित विषय चाहेर पनि लिन नपाउने गरी कक्षा ११ र १२ को परिमार्जित गरेको भन्दै समाजले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

विज्ञान तथा प्रविधिमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई गणितको आधारभूत ज्ञान तथा सीप आवश्यक हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उपयोगिता बढेको भएपनि यसलाई पाठ्क्रममा अनिवार्य नबनाइनु दुःखद् रहेको समाजले जनाएको छ ।गणित मुख्य विषय नहुने जीव विज्ञानका क्षेत्रमा र मेडिकल तथा पारामेडिकल कोर्षमा पनि यसको ज्ञान आवश्यक देखिएकाले यसलाई पाठ्यक्रममा अनिवार्य राखिनुपर्ने माग गरिएको छ ।

‘विज्ञान तथा प्रविधिका अन्य विषयहरूमा पनि गणितीय सिद्धान्तका प्रयोग हुने र उच्च शिक्षाको अनुसन्धानात्मक कार्य गणित विना अपूर्ण हुने हुनाले यसलाई कक्षा ११ र १२ मा विज्ञान तथा प्रविधि क्षेत्रमा जाने विद्यार्थीका लागि अनिवार्य बनाइनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ ।वाणिज्य संकायतिर जाने विद्यार्थीहरूका लागि पनि कम्तीमा १०० पूर्णाङ्कको गणित विषय पढ्न पाउने प्रावधान हुनुपर्ने विज्ञप्तिमार्फत माग गरिएको छ ।