विमान दुर्घटनाबारे झुट बोल्ने नेतृत्वविरुद्ध प्रदर्शन, समर्थनमा ट्रम्पको ट्वीट

२७ पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
25 Shares


एजेन्सी – इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले छुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सो दुर्घटनामा विमानमा रहेका सबै १७६ जनाको ज्यान गयो । सोही बिहान इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी मिसाइल आक्रमण गरेको थियो ।पश्चिमा राष्ट्रहरुले इरानले गरेको मिसाइल आक्रमणकै कारण युक्रेनी विमान दुर्घटनामा परेको बताएका थिए । इरानले भने सो कुरा अस्वीकार गर्दै आएको छ । तर शनिबार इरानी आर्मीले वक्तव्य जारी गरेर आफ्नो तर्फबाट प्रहार भएको मिसाइलकै कारण विमान खसेको भन्दै माफी मागेको हो ।सो आक्रमण नियतबस नरहेको स्पष्ट पारेको इरानी सेनाले घटना गम्भीर मानवीय त्रुटीका कारण भएको उल्लेख गरेको छ । इरानका राष्ट्रपति हसन रुहानीले पनि घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन् तर सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

कम्तिमा तेहरानका दुई विश्वविद्यालय अगाडि प्रदर्शन भएको र प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरुको समर्थनमा ट्वीट गरेका छन्।गएको हप्ताको शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकाले इराकको राजधानी बग्दादमा गरेको हवाई आक्रमणमा इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल काशिम सुलेमानीको मृत्यु भएको थियो । सुलेमानीको मृत्यु भएपछि अमेरिका र इरानबिचको सम्बन्ध उच्च तनावको अवस्थामा पुगेको छ ।त्यसकै बदला लिनका लागि इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर आक्रमण गरेको थियो ।सोही आक्रमणको क्रममा प्रहार भएको मिसाइलका कारण युक्रेनी विमान दुर्घटनामा परेर १७६ जना निदोर्षको ज्यान गएको हो । विमानमा इरानी, क्यानडियन तथा युक्रेनी, बेलायती, अफगान र जर्मन नागरिक थिए ।शनिबार बेलुका विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्न तेहरानका शरिफ र अमिर कबिर विश्वविद्यालय अगाडि विद्यार्थी भेला भएका थिए । सो भेला पछि प्रदर्शनमा परिणत भएको जनाइएको छ ।एक हजारको हाराहारीमा रहेका प्रदर्शनकारीहरुले नेतृत्वविरुद्ध नारावाजी गरेको तथा सुलेमानीको पोस्टर च्यातेको फार्स समाचार संस्थाले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया