अतुुलनीय योगदान पृथ्वीनारायण शाह ऐतिहासिक व्यक्तित्व

२७ पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
265 Shares


नेपाल राष्ट्र भनेर आज विश्वसामु गर्वको साथ हामी जसरी चिनिएका छौं वा विश्वमान चित्रमा नेपालको नक्सा हेरेर गौरवको अनुभव गरिरहेका छौं त्यो सबै अदम्य साहस, वीरता, कुशल नेतृत्व दूरदृष्टिका चिन्तनका धनी पृथ्वीनारायणकै अतुुलनीय योगदानका कारण सम्भव भएको हो भन्ने तथ्यलाई कुनै पनि नेपालीले बिर्सनु हुन्न । नेपालभित्र बसोबास गर्ने जुनसुकै जाति, जनजाति, धर्म, लिंग आदि जो भए पनि उनकै देनका कारण वीर गोर्खाली, बुद्ध र सगरमाथाको देशका बासिन्दा भनेर चिनिन पाएका हुन् पृथ्वीनारायण शाह । त्यसैले नेपाल राष्ट्रको राष्ट्र निर्माता, राष्ट्रिय एकताका प्रतीक हुन् । उनले टुक्रिएर रहेका ससाना, राज्यलाई एकीकरणको अभियानद्वारा नेपाल राष्ट्र निर्माण गरी चार वर्ण छत्तीस जातको फूलबारी रचना गर्ने जुन स्तुत्य कार्य गरे त्यसको सबै नेपालीले अति श्रद्धा र सम्मानका साथ नमन गर्नै पर्छ । राष्ट्रनिर्माण गर्ने कार्य निश्चय नै सहज थिएन । युवराज धिराजको अवस्थादेखि नै पृथ्वीनारायण शाहको ब्रिटिस शासनले आफ्नोे राज्य विस्तार गर्ने क्रममा नेपालका ससाना राज्यका राजाको अस्पष्ट नीति, परस्परमा वैरभाव आदिको मौका छोपेर नेपाललाई आफ्नै अधीनमा राख्ने जमर्को गरी नेपालतर्फ आँखा लगाएको र भारतका राज्यमा आक्रमण गरेको देखे बुझेका हँुदा त्यसबाट जोगिन नेपालभित्र रहेका ससाना बाइसे–चौबीसे राज्यलाई एक ढिक्का बनाउन एकीकरणको अभियान सुरु गर्ने भावना उनीभित्र विकसित भएको थियो । पृथ्वीनारायण गोरखा राज्यको राज्यारोहण गर्दाको बेला गोरखा राज्य एक निर्धन र कम शक्तिशाली राज्य थियो । त्यस समय कतिपय पूर्वका सेन राज्यहरू, पश्चिमका बाइसे चौबीसे राज्यहरू र उपत्यकाका मल्ल राज्यहरू आन्तरिक छलकपट र कलहमा अल्झिएका थिए ।राष्ट्रिय एकीकरणको सोच उनीहरूमा थिएन । गोरखा राज्य अरू राज्यभन्दा निर्धन भएकाले उसलाई बाह्य आक्रमणबाट सदैव त्रास थियो ।

यो अवस्थालाई चित्रण गर्दै पृथ्वीनारयण शाहले भनेका छन्– ‘लमजुङ भन्याको गरुड हो, गोरखा भन्याको सरप हो, नेपाल भन्याको भ्यागुता हो। गरुडको आँखा छल्नु तब सरपले भ्यागुता खान पाउँछ’ । त्यसैले, लमजुङलाई अरू बाइसे÷चौबीसे राज्यबाट अलग्याउने प्रयासस्वरूप लमजुङसँग कालु पाँडेमार्फत कूटनीतिक सम्बन्ध स्थापना गर्ने कार्य पृथ्वीनारायण शाहले गरेका थिए । तनहुँ पनि शक्तिशाली राज्य भएकाले तनहुँ र लमजुङलाई एकजुट हुन नदिने पर्वत र पाल्पा राज्यसँग सम्बन्ध विस्तार गर्ने र कास्कीलाई कुनै प्रलोभनमा पारी लमजुङमाथि आक्रमण गर्न लगाउनेजस्ता चतुर कूटनीतिक चाल उनले चालेका थिए । पश्चिमतिर बाट सुरक्षित महसुस भएपछि उनी पूर्वतर्फ एकीकरणको अभियानमा लागे । आफ्नोे एकीकरण का अभियालाई सफलीभूत पार्न त्यसबेलाको नेपाल उपत्यकामाथि जसरी भए पनि विजय हासिल गर्नु पर्छ भन्ने दूरगामी शोचका साथ उनले आफ्नोे अभियानलाई सशक्त रूपमा अघि बढाए । त्यसको लागि नुवाकोट राज्य जित्नुपर्ने बाध्यात्मक अवस्था थियो । त्यसैले, उनले पहिले नुवाकोटमाथि विजय प्राप्त गरे र नुवाकोटमा नै आफ्नोे राजधानी बनाए र तत्पश्चात् नेपाल उपत्यकालाई चारैतिरबाट आर्थिक नाकाबन्दी गरी संकटमा पारे । नेपाल उपत्यकाभित्रका काठमाडौं, ललितपुर, भक्तपुरका मल्ल राजामा आपसी मेलमिलाप थिएन, वैरभाव थियो । त्यसैको फाइदा उठाउँदै साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरी उपत्यकामाथि पटकपटकको आक्रमणपछि विजय प्राप्त गरे । यो विजयपश्चात् उनले नेपाल उपत्यकाभित्रको काठमाडौंलाई नै स्थायी राजधानी बनाएर शासन सञ्चालन गरे ।नेपाल राष्ट्रको निर्माणको जग बसाउन पृथ्वीनारायण शाहले विजय कार्यबाहेक अरू प्रशस्त कार्यहरू गरेका थिए । लडाइँ गरेर राज्य विस्तार गर्ने लक्ष्य मात्र उनको थिएन । जुन कुरा उनले विजय कार्यपछि अपनाएको नीतिबाट स्पष्ट हुन्छ ।

वास्तवमा उनले अपनाएका परराष्ट्र, गृह, उद्योग एवं सांस्कृतिक नीतिको धरातलमा उठेर नै वर्तमान नेपाल राष्ट्रको निर्माण हुन सकेको हो । उनले जहाँजहाँ विजय प्राप्त गरे, त्यसत्यस ठाउँको संस्कृति, कला र साहित्यलाई संरक्षण प्रदान गर्न र अपनाउन जुन उदारता उनले देखाए, त्यही कारणले नै वर्तमान नेपाल राष्ट्र अस्तित्वमा आउन सकेको हो । अन्य राज्यमाथि युद्धगरी विजय प्राप्त गर्ने र गोरखा राज्यमा गाभ्ने र गोरखालाई नै राजधानी केन्द्र बनाएको भए, अन्य राज्य र काठमान्डौं उपत्यकाको संंस्कृति, कला र साहित्यप्रति उदासिनता देखाउनेजस्ता कार्यहरू गरेका भए वा ती राज्यका सम्पत्ति लुटेर लगेका भए निश्चय नै पृथ्वीनारायण शाह राष्ट्र निर्माता नभएर ‘विस्तारवादी’ राजा कहलिन्थे । तर, त्यसो नगरेर व्यापक दृष्टिकोण राखी उदार नीति र सहिष्णुताको धरातलमा टेकेर राज्यकोे एकीकरण गरे । त्यही कारणबाट उनी राष्ट्र निर्माता र राष्ट्रिय एकताको प्रतीक बन्न सकेका हुन् ।आफ्नोे राष्ट्रमा अमन चयनको साथै विकास र उन्नति ल्याउन सांस्कृतिक, धार्मिक मूल्यमान्यताले धेरै टेवा दिने पृथ्वीनारायण शाहको धारणा थियो । धर्म, संस्कृति, तथा भाषाको झगडाले विश्वमा कयौं देशले आफ्नोे अस्तित्व तथा प्रान्त नै गुमाएका घटना विश्व इतिहासबाट उनले बुझेका थिए । दूरदर्शी उनले आफ्नोे मेहनत परिश्रमको साथै ज्यान हत्केलामा राखेर धेरै भाइभारदारको जनधनको क्षति सहेर निर्माण गरेका नेपालका विभिन्न धर्मावलम्बीको कुनै पनि संस्कार संस्कृतिको आस्थामा धावा बोलेनन्, प्रतिकार गरेनन् । आफ्नोे कुल धर्म नछोड्नु भन्ने सन्देश नै दिए, त्यो मत आफंैले गरेर देखाए । धेरै प्रयासबाट कीर्तिपुर विजय गरेपछि त्यहाँका नेवारवर्गले कुनै मंगल उत्सवमा कुमारी कन्याको सरसम्मान पूजा गरी पाउमा ढोग्ने चलन हुँदा पृथ्वीनारायण शाहले पनि कुमारीको पूजा गरी पाउमा ढोगी आशीर्वाद लिई नगरवासीलाई भोज खुवाएको इतिहासमा पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया