ओमप्रकाश हत्या प्रकरण : ‘ हत्याराहरुलाई प्रहरीले गर्‍यो सार्वजनिक’

प्रकाशित मिति:

जनकपुरधाम – अवैध तरिकाले खोला उत्खनन् गरी गिटी वालुवा निकाल्न खोज्ने कार्यको विरोध गर्ने धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर घर भएका एक युवक दिलीप भनिने ओमप्रकाश महतोको हत्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धनुषा प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका घटनाका मुख्य योजनाकार क्रसर मालिक विपीन कुमार महतो सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी शनिबार राति सवा आठ बजे सार्वजनिक गरी हत्या प्रकरण बारे जानकारी गराएको छ ।

हत्याको आरोपमा पक्राउ पर्नेमा क्रसर मालिक विपीन सहित ओमप्रकास लाई किच्ने ना ७ ख ६४१३ नम्बरको टिपरको चालक महोत्तरीको बर्दिबास नगरपालिका ९ बस्ने ३४ वर्षिय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका वडा नं. २ का २४ वर्षिय जितेन्द्रकुमार महतो र ओमप्रकास संगै खोलामा उत्खनन हुँदै छ भनेर रोक्न संगै गएका २७ वर्षिय रोशन यादव रहेका छन । रोशन दिलीपको गाँउकै छिमेकी साथी रहेको प्रहरीले जनाएको छ । रोशन सँगै बिहान ओमप्रकाश उत्खनन् रोक्न गाँउ नजिककै औरही खोला गएको थियो ।

हत्या घटनाको अभियुक्तहरु छुटाउने दबाब बढेपछि प्रहरीले शनिबार राति सवा ८ बजे पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । अभियुक्तहरुलाई सार्वजनिक गर्दै धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले रोशनको हत्या नै भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो । पक्राउ परेका क्रसर उद्योगका संचालक २७ वर्षिया विपीन हत्या भएका युवक ओमप्रकाश कै गाउँले रहेको बताइएको छ ।

विपिन आफनो गाँउ नजिककै औरही खोलामा चुरियामाई प्रशोधन केन्द्र क्रसर सञ्चालन गर्दै आइरहेका छन । प्रहरीका अनुसार आफ्नो गाँउ नजिकको खोलामा अवैध तरीकावाट गिटि वालुवा उत्खनन भइरहेको थाहा पाएपछि रोक्न गएका ओमप्रकाशलाई उनीहरुले फलामको लिभरले दाहिने कोखमा घोँची घाइते पारी, खोलामा सुताएर टिपरले किचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

हालसम्म अनुसन्धानको क्रममा चारजनालाई पक्राउ गरेर सार्वजनिक गरिएको र घटनामा अन्यको समेत संलग्नता भए उनीहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरमा ल्याउने उपरीक्षक बस्नेतले बताउनु भयो । उहाँले घटनाको सुक्ष्म तरिका वाट अनुसन्धान भइरहेको बताउनुभयो । शुक्रबार बिहान करिब ४ बजे अवैध तरीकाले औरही खोलामा उत्खनन भइरहेको वारे जानकारी पाउन साथ रोक्न जाँदा ओमप्रकाश लाई टिपरले किचेर मृत्यु भएको थियो । घटनाको चौतर्फीरुपमा विरोध भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा यस प्रकारको तथ्य बाहिरिएको छ । ओमप्रकासको शवको पोष्टमार्डम भइ सकेको र रिर्पोट आउन साथ अन्य विवरणहरु वाहिर आउने प्रहरीले जनाएको छ ।