सभामुखमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित

प्रकाशित मिति:

काठमाडौैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मदेवार चयन गर्न नसकेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ। प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गतेका लागि सारिएको छ। संसद सचिवलायले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराएकाे छ। सभामुखका लागि उम्मेदवार चयनमा नेकपाभित्र गतिरोध देखिएको छ। उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा रुची देखाएकी छन्। उपसभामुखको राजीनामापछि मात्रै सभामुख चयनको बाटो खुल्ने भन्दै शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो।

नेकपाले उपसभामुखको राजीनामापछि मात्र सभामुख उम्मेदवारको टुंगो लगाउने भएको छ। संविधानको प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ। सभामुखका लागि नेकपाबाट पम्फा भुसाल, सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, देव गुरुङलगायतको नाम चर्चामा छ। तर, नेकपाले यस विषयमा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन्। सभामुख चयनमा गतिरोध जारी रहेका बेला शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुम्बाहाङ्फेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल गरेका थिए। शिवमायाले ओली र प्रचण्डसमक्ष सभामुखका लागि आफ्नो योग्यताको सूची पेश गर्दै राजीनामा नदिने अडान राखेकी थिइन।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा थुनामा गएपछि सभामुख पद रिक्त छ। सत्ता बाँडफाटमा राष्ट्रपति तत्कालीन एमाले र सभामुख माओवादी पक्षले लिने सहमतिअनुसारै महरा सभामुख बनेका थिए। महराको बर्हिगमनपछि तत्कालीन एमाले पक्ष त्यसमा पनि खासगरी ओली आफूले चाहेको मान्छे सभामुख हुनुपर्ने अडानमा छन्। प्रचण्ड पनि सभामुख आफूहरुलाई परेको भन्दै त्यसलाई छाड्न नसकिने अडानमा छन्। नयाँ सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्व सभामुख नेम्वाङ र प्रचण्डले स्थायी कमिटी सदस्य सापकोटालाई अघि सारेका छन्। पूर्व माओवादी पक्ष सापकोटाका नाममा सहमति नभए अर्को नेतालाई अघि सार्न सकिने तर सभामुख छाड्न नसकिने अडानमा छ। ओली र प्रचण्डको आ–आफ्नै दाबीका कारण गत ४ पुसमा सुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गर्दै सारिने गरिएको छ। सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्रको अन्योलताकै कारण गत ११ र १६ पुसमा बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो।