नेप्सेमा उछाल – लगानीकर्ता उत्साहित

प्रकाशित मिति:

बुटवल – पुँजी बजारमा निरन्तर सुधार हुन थालेपछि आम लगानीकर्ता उत्साहित हुँदै गएका छन् । पुसको तेस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकमको अभाव नभएकाले पनि लगानी कर्ता हौसिएका हुन् । साताको पहिलो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४२ दशमलव ६१ अंकले बढेर १ हजार २ सय ५५ दशमलब ७२ अंकमा पुगेको छ । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलब ४७ अंकले बढेर २७२ दशमलब ७३ अंकमा पुगेको छ । यस दिन बजारमा १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ रुपैयाँमा कारोबार भए ।

नेप्सेमा दोहोरो अंकको सुधार आउँदा कारोबारमा आएका १२ वटै समूहगत उपसुचक उकालो लागेका छन् । यस दिन नपाल लाइफ इन्स्योरेन्सको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर पाँच करोड ८८ लाख १९ हजार ५९ रुपैयाँमा कारोबार भएको हो । आज मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक दश प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, रिद्धि हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक चार दशमलब १६ प्रतिशत सेयर मूल्य गुमाए ।