तिलोत्तमामा सरसफाई अभियानको २५ औं श्रृंखला

प्रकाशित मिति:

तिलोत्तमा, असोज १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालन हुँदै आएको समुदायमा आधारित सरसफाई अभियान सोमबार २५ औं श्रृंखलामा पुगेको छ । नगरपालिकामा जनप्रतिनिधिहरु आएलगत्तै गत वर्षबाट ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाई र हरियाली प्रवद्र्धन अभियान सुरु भएको थियो ।
नगरपालिकाले हरेक महिनाको १ र १५ गते यो अभियान सञ्चालन गर्दै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरुले अन्य दिनहरुमा समेत सरसफाई र हरियाली प्रवद्र्धनका कामहरु गर्दै आएका छन् । २५ औं श्रृंखलाको अवसरमा सोमबार नगरपालिकाका सबै वडामा सरसफाई गरिएको छ ।
सरसफाई अभियानमा विभिन्न टोल विकास संस्था, सहकारी, खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, क्लब, आमा समूह, शिक्षणसंस्थालगायत नगरबासीहरुको सहभागिता रहेको थियो । सरसफाई अभियन्ताहरुले घरमा उत्पादित फोहोर घरमैं व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सरसफाई अभियानको स्वमित्व सबै व्यक्ति, परिवार र समुदायले लिनुपर्ने बताएका थिए ।
ड्राईभरटोल चोकमा सरसफाई अभियानको २५ औं श्रृंखला शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाई अभियान सबैको साझा अभियान भएकाले यसमा सबैको सहभागिता रहनुपर्नेमा जोड दिनुभयो । उहाँले सरसफाई अभियानसँगै नगरपालिकाले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनका लागि योजना अघि बढाएको जानकारी समेत गराउनुभयो ।
नगरपालिकाले जनचेतना जगाउन सन्देशमुलक सरसफाई अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख घिमिरेले फोहोर सकेसम्म कम गर्ने र आफूले गरेको फोहोर सकेसम्म आफैं व्यवस्थापन गर्ने बानीको विकास सबैमा हुनुपर्ने उल्लेख गर्नुभयो । हरेक व्यक्ति सचेत भएमा फोहोर कम हुने बताउँदै उहाँले फोहोर जथाभावी नफाल्न नगरबासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, प्रवक्ता सुरेन्द्र श्री, वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकाललगायतले सरसफाईको बहुआयामिक महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।