विकासका लागि राजनीति हुनुपर्छ

१६ आश्विन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


२००७ सालदेखि विभिन्न आन्दोलनका चरण पार गर्दै आज हामी यो अवस्थासम्म आइपुगेका छौं । प्रजातन्त्रको प्राप्तिपछि त्यसलाई संस्थागत गर्ने क्रममा देशको राजनीतिले गति लिन सकेन र २०१७ सालमा प्रतिगमन भयो, त्यसपछि ३० वर्षे लामो पञ्चायती व्यवस्था रह्यो । २०४६ सालमा जनताले प्रजातन्त्र पुनःस्थापना गरे । त्यसपछि पनि २०६१ साल माघ १९ गते राजाको प्रतिगमन भइसकेपछि २०६२÷६३ मा ठूलो आन्दोलन भएर देशमा गणतन्त्र स्थापना भयो ।

विभिन्न आरोह–अवरोह पार गर्दै संविधानसभाबाट संविधान निर्माण भयो । नेपालमा गणतान्त्रिक क्रान्ति विकासवादी क्रमबाट एउटै निर्णायक बाटोमा अगाडि बढेको अवस्था छ । कति कमीकमजोरी नेपालको राजनीतिमा होला तर अबको दिनमा हामीले कसरी सकारात्मक दिशामा देशको राजनीतिलाई अगाडि बढाउने र कसरी राजनीतिक स्थायित्व कायम गराउने, कसरी राष्ट्रिय चरित्रको निर्माण गर्ने भन्ने बाटोमा जानुपर्ने स्थिति रहेको छ । हाम्रो देशको राजनीतिलाई सत्ताको स्वादबाट राष्ट्रिय स्वार्थको स्तरमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन जरूरी छ ।
अहिले दुई तिहाई बहुमतको सरकार आएको छ । जुन रूपमा परिवर्तनलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने हो, त्यो अनुरूप यो सरकार पनि अगाडि बढ्न सकेको छैन । नेताहरू अहिले पनि गुटमुखी र कार्यकर्तामुखी भएका छन् । जनतामुखी भएर राष्ट्रको नेतृत्व गर्ने गुणात्मक बाटोमा अगाडि बढ्न सकेका छैनन । राज्य संयन्त्रहरूको कसरी संस्थागत विकास गर्ने र देशको राजनीतिलाई कसरी जनताको पक्षमा विकास गरेर लैजाने भन्ने खालको बाटोमा देशको राजनीतिक नेतृत्व वर्ग अझै पनि निर्णायक भएर जान सकेको अवस्था छैन । संविधानमा भएका कमीकमजोरीलाई सच्याउँदै अब हामीले देशलाई विकासको बाटोमा लैजानुपर्छ र संविधान संशोधनको विषयलाई राम्रोसँग केलाएर असन्तुष्ट पक्षको मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ । संघीयता स्थापित गर्न मधेश आन्दोलनको पनि ठूलो हात रहेको छ त्यसैले मधेशलाई असन्तुष्ट राखेर अगाडि बढ्न सकिँदैन ।
जनजाति, मधेशी, थारू समुदायमा यो संविधानलाई लिएर जति असन्तुष्टी रहेको छ ती सबैलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ र सरकार पक्षले सबैलाई समेट्दै जानुपर्ने हुन्छ । उचित भावनाहरूलाई समेटेर निकास दिने प्रयास गर्नुपर्छ । यो देशको राष्ट्रियताको मर्म बचाउन हिजोका दिनमा हाम्रो देशका पुर्खाहरू सिन्धुलीगढी, मकवानपुरगढी, जितगढीमा लडे । अहिले नेपाल–भारत सिमानाका विषयमा विभिन्न कुराहरू आइरहेको छ । हाम्रो देशले एउटा देशतिर ढल्किनुपर्छ भनेको पनि सुन्नमा आइरहेको छ । हामी न दक्षिणतिर ढल्कछौं न उत्तरतिर । हामी स्वतन्त्र र असल छिमेकीको रूपमा रहन सक्यौं भने मात्र हाम्रो राष्ट्रियता जिवित रहन सक्छ । मधेशी नेताहरूले पनि यो देशको राष्ट्रियताको अपनत्व, स्वामित्व र मर्मलाई राम्रोसँग बुझेर अगाडि बढ्नुपर्छ । अब सकारात्मक विकासको बाटोमा जान सक्नुपर्छ ।

अब स्वस्थ्य बाटो मार्फत् अगाडि बढ्नुपर्छ । खस आर्यको विकल्पमा गैर खस आर्यले अब यो देशको कार्यकारी प्रमखु भएर राष्ट्रको नेतृत्व गर्नुपर्छ । अब खस आर्यसँग सम्झौता गरेर आन्दोलन गर्ने र खस आर्यसँग सम्झौता गरेर कुनै मन्त्री पद खाने होईन, अबको आन्दोलन देशको राजनीतिलाई एउटा सही बाटोमा लैजानका लागि हुनुपर्छ । यहाँका उत्पीडित जनताको विकासको लागि राजनीति हुनुपर्छ ।
तीन तहको निर्वाचन सफल गरेर संविधान एउटा बाटोमा अगाडि बढिसकेको छ । तर, असन्तुष्ट पक्षले संविधानको अपनत्व महसुस नगरेको अवस्था पनि छ । निकै लामो समयको पखाईपछि संविधानसभाबाट संविधानको निर्माण भएको छ । त्यसैले अब फेरि जनताले परिवर्तनको लागि भन्दै लडाँई लड्न नपरोस् । संविधान कार्यान्वयनको प्रक्रिया अगाडी बढाउँदै यो संविधान हाम्रो हो भनेर सबै नेपाली जनतालाई महसुस गराएर सर्वस्वीकार्य बाटोमा लैजानु पर्दछ ।
यो संविधान एउटा सम्झौताबाट आएको हो । विगतमा जस्तो निरकुंश शासन व्यवस्था अब कहिल्यै नदोहोरिने गरी नयाँ संविधान त आएको छ तर यस भित्र पनि केही कमीकमजोरी त रहेका छन् । अब सरकारले यहाँका हरेक तह र तप्काका नेतादेखि जनताका वास्तविक मर्मलाई सम्बोधन गर्न सक्नुपर्छ र असन्तुष्ट पक्षको चित्त बुझाएर अगाडि बढ्नुपर्छ ।
नेपालको राष्ट्रिय राजनीतिलाई अहिलेको अवस्थामा राजनेताको एकदमै आवश्यक्ता परेको छ । क्रान्तिबाट जतिपनि नेताहरू जन्मिए, तिनीहरू आफ्नो स्वार्थमा लिप्त भए । एउटै व्यक्तिले यो देशको राजनीतिलाई एउटा निर्णायक विन्दुमा पु¥याउने वातावरण यहाँ भएन । हामी सबै मिलेर यहाँको राजनीतिक क्रान्तिलाई नयाँ तरिकाबाट बुझ्नुपर्ने आवश्यक्ता छ । हामीले संघीय गणतन्त्र स्थापना गर्नको लागि पनि धेरै बलिदानी दिएका छौं ।

संघीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउँदै यो देशको राजनीतिलाई नयाँ तरिकाले कमान्ड गरेर अगाडि बढ्न सक्नुपर्छ । देशमा एउटा सक्षम राजनेताको जन्म नभए पनि धेरै राम्रा नेताहरूको जन्म भएको छ । सबै मिलेर अगाडि बढ्न सकियो भने समृद्ध नेपाल सम्भव छ ।
देशमा जति पनि क्रान्ति भयो, परिवर्तन भयो, तैपनि सुशासनको बाटोमा देश जान सकेको छैन । भ्रष्टाचार उन्मुलनको बाटोमा देश जान सकेन । यहाँका सबै उत्पीडित जाती, मधेशी, थारू, जनजाति, दलित अहिले पनि पछाडि परिरहेका छन्, शोषित नै छन् । त्यसैले देशको राजनीतिमा एउटा नयाँ लोकतान्त्रिक शक्तिको आवश्यक्ता महसुस गरेर हाम्रो पार्टीको जन्म भएको हो र हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा एउटा सन्देश दिनसक्छ । त्यो नयाँ सन्देशले हाम्रो देशको राजनीतिलाई एउटा नयाँ दिशामा अगाडि बढाउँछ ।
भखरै हाम्रो पार्टीको निर्माण भएको छ । हामी एउटा नयाँ उत्साहका साथ आइरहेका छौं राष्ट्रिय राजनीतिमा । संगठनको विकास पनि दू्रत गतिमा भइरहेको छ । पार्टी भनेको विचार हो, हाम्रो पार्टीको विचार अहिलेको नयाँ युगले खोजेको जस्तै छ । परिवर्तनलाई समातेर र इतिहासलाई पनि सम्मालेर भविष्यलाई सही रूपले अगाडि लैजान हाम्रो पार्टीले बाटो देखाउँछ । हाम्रो पार्टीले सम्पूर्ण तह र तप्काका उत्पीडित जाति, वर्ग, समुदायलाई एउटा नयाँ खालको मार्गदर्र्शन दिन्छ । हामीले विचार निर्माणमा अगाडि बढेका छौं । अब हामी संगठन निर्माणको प्रक्रियालाई अगाडि बढाउँदैछौं । त्यसपछि राष्ट्रिय राजनीतिमा हाम्रो हस्तक्षेप सशक्त बनाउँदै निर्णायक भूमिकामा अगाडि बढ्छौं ।
नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व मेजर पौडेलसँग गरेको कुराकानीमा आधारित (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया