अनिश्चित बन्दै नेविसंघ महाधिवेशन

प्रकाशित मिति:

नेपाल विद्यार्थी संघको १२औं अधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसंघ हेर्ने निर्देशन समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित भएको हो । यही कार्तिक १६, १७ र १८ महाधिवेशन सम्पन्न गर्ने भन्दै नेविसंघ केन्द्रीय समितिले समय तालिका पार्टी समक्ष पेश गरेको थियो । सो विधान र नियमावलीमा विद्यार्थी राजनीतिमा उमेर हद नलाग्ने निर्णय गरेको छ ।

पार्टी संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ । महाधिवेशन गर्ने भनेर अध्यक्ष नैनसिंह महरले मनोनित गरेका २२ पदलाई विनाशर्त अनुमोदन गरि प्रतिनिधि पठाउन र अधिवेशन प्रारम्भ गर्न केन्द्रीय समितिले निर्देशन गरेको थियो । तर अध्यक्ष नैनसिंह महरले फेरी विजय गच्छदार समुहलाई मिलाउने गरि विधान र सहमति विपरित १५ जना मनोनित गरि स्वयम् अध्यक्षबाट महाधिवेशनको वातावरण विगारेको वरिष्ठ नेता पौडेल पक्ष र तेस्रो धार मानिएका कृष्ण सिटौला पक्षको आरोप छ ।
दुई वर्ष पहिला ११औं महाधिवेशनमा नेविसंघमा ३२ वर्ष उमेर हद लाग्ने गरि अधिवेशन सम्पन्न गर्ने निर्देशन समितिले निर्णय गरेको थियो । स्ववियू निर्वाचनमा २८ वर्ष उमेर हद लागेपछि ठुला क्याम्पसहरुमा स्ववियू चुनाव अनिश्चित भएको छ भने नेविसंघमा ३२ वर्ष उमेर हद लगाएर महाधिवेश नगर्ने पक्षमा देउवा पक्ष छ । पछिल्लो समय अन्य भ्रातृ संगठन आफ्नो हातबाट फुस्किदै गए पछि सबैभन्दा शक्तिसाली भ्रातृ संगठन नेविसंघलाई विघटन गरि तदर्थवाद संचालन गर्न खोेजेको छ । निर्देशन समितिका संयोजक प्रकाशशरण महत विघठन गराउन लागिपरेका छन् भने अध्यक्ष नैनसिंह महर संख्या थप्दै आफ्नो कार्यकाल लम्बाउने पक्षमा देखिन्छन् ।

आफ्नो पक्षको हार निश्चित देखे पछि स्ववियू चु्नावसम्म यही समितिलाई लम्बाउने दाउमा छन् र तदर्थ समिति गठन गर्ने पक्षमा देउवा पक्ष देखिन्छ भने देउवा इतर पक्ष विधिवत महाधिवेशनको पक्षमा देखिन्छन् । दुई वर्ष कार्यकाल रहेको नेविसंघ केन्द्रीय समितको म्याद गत भदौमा सकिएको थियो ।

पार्टीले अधिवेशन सम्पन्न गर्नका निम्ति थप तीन महिना थपेको थियो र थपेको तीन महिना पनि विना उपलब्धि सकिएको छ । यो कार्यसमितिको मंसिर दुई गते म्याद सकिदैछ ।
आगामी महाधिवेशना संस्थापन पक्षबाट सरोज थापा, निलकण्ठ रिजाल, राजीव ढुंगाना, शुभराम बस्नेत लगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट दिपक भट्टराई, मोतिलाल भण्डारी, हिमालदत्त श्रेष्ठ छन् । पार्टीको गत महाधिवेशनबाट तेस्रो धारको रुपमा उदाएको सिटौला पक्षबाट कुन्दनराज काफ्ले, युवराज पाण्डे लगायतको अध्यक्षमा दावी रहेको छ । महामन्त्री पदको लागि दर्जनौको दावि छ ।