सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
51 Shares


न्युयोर्क । भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणकाबिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति रहेको थियो ।

राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो । चर्चित संचारकर्मी प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सिमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताउनुभयो ।

संचारकर्मी अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित गरेको बताउनुभयो । कार्यक्रममा गायिका सपना श्रीले राष्ट्रिय गीत गाउँदा सहभागीहरु निकै हौसिए भने गायक रामप्रसाद खनाल र कवयत्री शकुन ज्ञवालीको गीत र कविताले देशभक्तिपूर्ण माहौल श्रृजना गरेको थियो ।

कार्यक्रममा भारतीयपक्षबाट गरिएको सिमा अतिक्रमणको बिरुद्ध नारावाजी गरिएको थियो भने सहभागीहरुले प्लेकार्ड बोकेका थिए । सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्शामा समेटेको लिपुलेक, लिम्पियाधुरासहतिको नेपालको नक्शासहितको टिसर्ट लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया