माघे संक्रान्तिमा किन खाइन्छ कन्दमुल

प्रकाशित मिति:

नेपालीहरुको प्रमूख चाड मध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाड हो । माघे संक्रान्तिलाई कन्दमुल खाने चाडको रुपमा पनि लिइन्छ ।माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, सख्खरका परिकार बनाएर खाइन्छ । यस्तै तरुल, रख्खरखण्ड, पिडालु लगायतका अन्दमुल (जमिनमुनी फल्ने खाद्यवस्तु) उसिने खाने चलन छ । नेपाली चाडपर्वहरुमा खाइने परिकार र यसको महत्व फरक–फरक छ । पोषणविद् अतुल उपाध्यायका अनुसार नेपाली चाडपर्वका परिकारहरुले स्वास्थ्यलाई फाइदा हुने वैज्ञानिक आधारहरु छन् । माघे संक्रान्तिको दिन खाइने परिकारले परम्परा धान्न मात्र नभइ स्वास्थ्यका लागि पनि निकै लाभदायीक रहेको पोषणविद् उपाध्याय बताउँछन् ।

‘हाम्रा सांकृतिक चाडहरुमा केही न केही वैज्ञानिक कारणहरु पाइएको छ, माघे संक्रान्तिमा खाइने परिकारको सांस्कृति विशेषतासँगै स्वास्थ्यका लागि पनि फाइदाजनक छ,’ पोषणविद् उपाध्यायले भने, ‘माघे संक्रान्ति जाडो मौसममा नै पर्छ, माघे संक्रान्तिमा खाइने तिल, तरुल, चाकु, घ्युमा बोसोको मात्रा धेरै हुन्छ, जाडो मौसममा शरीरमा फ्याटको आवश्यकता बढी हुन्छ, त्यसैले माघे संक्रान्तिमा खाइन खानाको फाइदा धेरै छ ।’

स्वास्थ्यका दृष्टिकोणले माघे संक्रान्तिको खानपान दशैको भन्दा फाइदाजनक र स्वास्थ्यवद्र्धक रहेको पोषणविद् उपाध्यायको तर्क छ । ‘माघे संक्रान्तिको संस्कृति स्वास्थ्यवद्धक संस्कृति हो । बरु दशैमा खाने माछा–मासु बढी खाएमा असर पुर्‍याउँछ । तर माघे संक्रान्तिको चाडमा खाइने परिकार स्वास्थ्यवद्र्धक छ,’ पोषणविद् उपाध्यायले भने ।

माघे संक्रान्तिमा खाने कुन परिकारको फाइदा के ?

माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, सख्खर, तरुल, सख्खरखण्ड, पिडालु लगायतको खाद्य पदार्थको आ–आफ्नै फाइदाहरु छन् ।

कन्दमुल

माघे संक्रान्तिमा खाइने कन्दमुल भित्र तरुल, सख्खरखण्डा, पिडालु छन् । कन्दमुलहरुमा शरीरलाई शक्ति प्रदान गर्ने तत्व हुन्छ । पोषणविद् उपाध्यायका अनुसार तरुलमा कार्बोहाईड्रेट पाइन्छ । तरुलमा पाइने कार्बोहाईड्रेटले शरीरलाई शक्ति प्रदान गर्न सहयोग पुर्‍याउँछ । तरुल आलु जस्तै खाद्यवस्तु हो । तर यसमा आलुमा भन्दा धेरै पोषणतत्व हुन्छ । तरुलमा आलुमा नहुने फाइवर (रेसादार) समेत हुने भएकाले त्यसले शरीरलाई फाइदा गर्छ । यस्तै तरुलमा भिटामिन सि पनि पाइन्छ ।

जसले गर्दा तरुलले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ । यस्तै तरुल, सख्खरखण्डामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले गर्दा क्यान्सर हुनसक्ने तत्वहरुलाई नष्ट गरी मानिसलाई क्यान्सरको जोखिमबाट समेत बचाउँछ । पोषणविद् उपाध्यायका अनुसार विभिन्न अध्ययन अनुसन्धानले नै तरुलमा क्यान्सर विरुद्ध लड्ने क्षमता रहेको पाइएको छ ।

‘तरुलमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर विरुद्ध लड्ने क्षमता राख्न भनेर कतिपय अध्ययनहरुले नै देखाएको छ,’ पोषणविद् उपाध्याले भने, ‘तर तरुल खाएर मात्र क्यान्सर रोग ठीक भने हुँदैन । तर तरुल खाने व्यक्तिमा क्यान्सरसँग लड्ने क्षमता बढी हुन्छ ।’

तिलको लड्डु

माघे संक्रान्तिमा खाइने तिलको लड्नुमा प्रशस्त्र मात्रामा फ्याट पाइन्छ । यस्तै तिलमा प्रोटिन समेत हुन्छ । तिलमा दुई प्रकारका फ्याट हुन्छ । स्याचुरेट र अनस्याचुरेट गरी तिलमा दुई प्रकारका फ्याट हुन्छ ।

यो दुवै किसिमका फ्याट शरीरलाई आवश्यक पर्छ । स्याचुरेट फ्याट वनस्पतिमा पाइन्छ, यस्तै माछाको तेलमा पनि यो फ्याट पाइन्छ । तिलको लड्डुमा पनि माछामा फाइने फ्याट पाइन्छ जसले स्वास्थ्यलाई फाइदा गर्छ । तिलमा आइरन पनि पाइन्छ । यस्तै तिलमा गुण पनि मिसाइएको हुन्छ । जसलमा गुलियो पदार्थ हुन्छ । जसले शक्ति प्रदान गर्छ । यस्तै गुणमा आइरन, खनिजपदार्थ हुन्छ । जसले शरीरलाई फाइदा गर्छ । तिलको लड्नुकै विषयमा अनुसान्धान नभएपनि तिलको लड्नुमा प्रयोग हुने खाद्य वस्तुको फाइदाबारे अध्ययन समेत भएको पोषणविद् उपाध्यायले बताए ।

चाकु

मागे संक्रान्तिमा खाइने अर्को विशेष परिकार हो चाकु । चाकु गुणबाट बनाइने खाद्यपदार्थ हो । चाकुमा गुलियोको मात्रा प्रशस्त्र हुन्छ । चाकुमा कार्वोहाइड्रेट पाइन्छ । जसले शरीलाई शक्ति प्रदान गर्छ । यस्तै चाकुमा भिटामिन र फाइवर समेत पाइने हुँदा चाकु स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद् उपाध्यायले जानकारी दिए ।

कन्दमुल राम्रोसँग नपाके स्वास्थ्यलाई पर्छ असर

तपाईले ख्याल गर्नुभएको छ ? पिँडालु, तरुल, सख्खरखण्डा राम्रोसँग उसिनिएको छैन भने, त्यसलाई खाँदा तपाईको मुख कोक्याएको महसुस हुन्छ । यसको अर्थ कन्दमुललाई राम्रोसँग उमालेर पाकिसकेपछि मात्र खानुपर्छ । यदी कन्दमुलहरु राम्रोसँग पाकेको छैन भने त्यसमा टक्सिनहरु उत्पन्न हुन्छ । जसले गर्दा तपाईको स्वास्थ्यलाई प्रतिकुल असर पर्छसक्छ । ‘कन्दमुलहरु खान पहिला राम्रोसँग उमालेर पकाउनुपर्छ, यदी राम्रोसँग पाकेको छैन भने त्यसमा टक्सिनहरु उत्पन्न हुन्छ,’ पोषणविद् उपाध्यायले भने, ‘जसले गर्दा कन्दमुलले मुख कोक्याउने, वान्ता हुने समस्या देखा पर्नसक्छ, त्यसैले कन्दमुललाई राम्रोसँग पाकेपछि मात्र खानुपर्छ, राम्रोसँग पाकेको कन्दमुलमा टक्सिन हुँदैन ।’

पुसमा पकाएर माघमा खान राम्रोसँग भण्डारण गर्नुस्

मागेसंक्रान्तिमा खाने परिकार पुसमा नै पकाइने चलन छ । त्यसैले गर्दा माघे संक्रान्तिमा खाने परिकारलाई ‘पुसमा पाक्य माघमा खाक्य’ भन्ने गरिन्छ । यसको अर्थ पुस मसान्तमा पकाएका परिकार माघको पहिलो दिन अर्थात माघे संक्रान्तिको दिन खाने चलन हो । यसरी पहिला नै पकाएर खाने परिकारको भण्डार राम्रो नभएमा स्वास्थ्यलाई फाइदा गर्ने परिकारको पनि नकारात्मक असर हुनसक्छ ।

त्यसैले माघे संक्रान्तिको परिकारलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्ने पोषणविद् उपाध्याय बताउँछन् । ‘माघे संक्रान्तिमा खाइने परिकार पुसमा नै पकाउने चलन छ । त्यसैले कन्दमुलहरु, चाकुहरु पुसमा नै पकाइने गरिन्छ । अघिल्लो दिन नै पकाएको खानेकुरा भोलीपल्ट खाने भएमा त्यसलाई राम्रोसँग भण्डारण गर्नुपर्छ,’ पोषणविद् उपाध्यायले भने, ‘भण्डारण गर्दा ओतसँग जोगाउनुपर्छ, सुर्यको किरण प्रत्यक्ष पर्न दिनुहुँदैन, ताक्रमको पनि ख्याल गर्नुपर्छ, यस्तै बाहिरी किटाणुहरुबाट जोगाउनुपर्छ ।’

संक्रान्तिका परिकारले कस्ता बिरामीलाई असर पर्छ ?

पोषणविद् उपाध्ययका अनुसार माघे संक्रान्तिमा खाइने कन्दमुल तथा परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर स्वास्थ्यवद्र्धक हुँदा हुँदै पनि कतिपय अवस्थामा स्वास्थ्यवद्र्धक खानपान प्रयोग गर्ने व्यक्ति पनि स्वस्थ्य हुनुपर्ने हुन्छ ।

विशेषगरी मधुमेहका बिरामीले माघे संक्रान्तिमा हुने गुलियो पदार्थ कम खानुपर्ने पोषविद् उपाध्यायले बताए । ‘माघे संक्रान्तिको परिकार स्वास्थ्यका लागि फाइदाजनक छ । स्वस्थ व्यक्तिले यी परिकारहरु खादा केही असर पर्दैन । तर, मधुमेहका बिरामीका लागि गुण, तिलको लड्डु, सख्खरखण्डा लगायतका गुलिया खानेकुरामा कन्ट्रोल गर्नुपर्छ, हाइपोटेन्सनको बिरामीले घ्यु धेरै खानु हुँदैन,’ पोषणविद् उपाध्यायले भने, ‘चाडवर्प मनाउने नाममा स्वास्थ्यलाई प्रतिकुल असर पर्नेगरी भने खानुहुँदैन ।’