पर्यटकलाई पृथकरुपमा नेपालीपनको आभाष दिलाऔं

२ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
18 Shares


निमिष झा – नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमा प्रारम्भ भइसकेको छ । २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्रयाउने लक्ष्य रहेको छ । सरकारको यो ठूलो महत्वाकांक्षी अभियानमा भने आन्तरिक पर्यटन विकास उदासिन देखिएको छ ।
राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक पर्यटनको कस्तो योगदान रहदै आएको छ, यसका सम्भावना र चुनौती के के हुन प्राथमिकताका साथ यसको सुक्ष्म अध्ययन, विश्लेषण गरेको देखिदैन् ।देशभरी घुम्नपर्ने ठाउँहरूको नाम सार्वजनिक गर्नु, त्यस ठाउँमा जानका लागि हवाई र सडक मार्गको जानकारी संकलन गर्नु, विभिन्न देशहरूमा भ्रमण वर्षको विषयमा केन्द्रित भई मेला, उत्सव, महोत्सवहरूको आयोजना गर्नु, बासस्थानको लागि होटेल, लजको व्यवस्था कस्तो छ भनेर होटेर व्यवयासीहरूसँग छलफल गर्नु, विभिन्न निजी क्षेत्रलाई पनि समेटेर अगाडि बढ्ने योजना बनाउनु जस्ता काम भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्रालय र भिजिट नेपाल बर्ष संस्थाले गर्दै आएको छ । के यतिले भ्रमण वर्षको लक्ष्य भेट्टाउन सकिएका ल त?प्राकृतिक सम्पदाले भरिपूर्ण, धार्मिक र ऐतिहासिक सभ्यताले सम्पन्न रहेको नेपालमा विश्वका धेरै देशहरूबाट पर्यटकहरू आउने गरेका छन् । मुख्यतः मनोरञ्जनका लागि पर्यटकहरू यहाँ आएता पनि धार्मिक र ऐतिहासिक स्थलहरूको बारेमा जानकारी लिन, राजनीतिक व्यवस्थामा भएको परिवर्तनको विषयमा बुझ्न, खोज तथा अनुसन्धानको गर्नका साथै हाम्रो संस्कृति र पुरात्ताविक वस्तुहरूलाई हेर्नको लागि बढी पर्यटन आउने गरेका हुन । प्राकृतिक सम्पदाले भरिपूर्ण, धार्मिक र ऐतिहासिक सभ्यताले सम्पन्न रहेको नेपालमा विश्वका धेरै देशहरूबाट पर्यटकहरू आउने गरेका छन् ।संघीय व्यवस्था अपनाइसकेको हाम्रो मुलकले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन क्षेत्रको विकास गर्न सक्ने हो भने त्यसबाट देश विकासका लागि आधार तय हुन सक्ने निश्चित छ ।

मधेश र विशेष गरी प्रदेश २ पर्यटकीय स्थलहरू र पर्यटनका सम्भावनाहरूको धनी क्षेत्र हो । झापादेखि कञ्चनपुरसम्म दर्जनौं चर्चित पर्यटकीय स्थलहरू रहेका छन् । हिमाली तथा पहाडी जिल्लामा पर्यटन व्यवसायबाट स्थानीय जनताले राम्रो आम्दानी गर्न थालिसकेको परिप्रेक्षमा मधेशमा त्यो संस्कृतिको अझ राम्ररी विकास हुन सकेको पाइदैन । घुम्न आएका पर्यटकलाई आफ्नो ठाउँमा कसरी टिकाउने र उनीहरूलाई मनोरञ्जन दिएर कसरी आफ्नै ठाउँमा खर्च गर्न लगाउने भन्ने विषयमा न त स्थानीय जनताले सोचेको पाईन्छ न पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले नै ठोस कदम चालेको देखिन्छ ।प्रदेश २ मा पर्ने जनकपुर धार्मिक हिसाबले महत्वपूर्ण पर्यटकीय स्थान हो । भारतबाट मात्र हजारौं पर्यटक यहाँ आउने गरेका छन् । उनीहरूलाई जनकपुर लगायत प्रदेश २ का अन्य स्थानहरू घुमाउन सकेमा यहाँ पर्यटकलाई २ दिन टिकाउन सकिन्छ तर उनीहरू बिहान आएर बेलुका फकर्ने गरेको पाईन्छ । जनकपुरमा बासस्थानको मुख्य समस्या रहेको देखिन्छ । आफूले खाजेको जस्तो होटेल, लजको व्यवस्था नहुने भएपछि अधिकांश पर्यटकहरू त्यहाँ नबसी अयन्त्र ठाउँमा जाने गरेका छन् । जनकपुर बाहेक प्रदेश २ को बाराको गढीमाई मन्दिर, रौतहटको शिवनगर मन्दिर, बडेवाताल, राजदेवी मन्दिर, छिन्नामस्ता, जलेश्वर मन्दिर जस्ता धेरै धार्मिक स्थलहरू यहाँ रहेका छन् । प्रदेश २ सरकारले धार्मिक पर्यटनलाई मात्र प्रबद्र्धन गर्न सक्ने हो भने यो प्रदेश एउटा नमुना प्रदेशको रूपमा विकास हुनसक्छ तर यो क्षेत्रको विकासका लागि न संघीय सरकारले ध्यान दिएको पाईन्छ न प्रदेश सरकारले नै ध्यान दिएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्तित्वक दस्तावेजले बाराको सिम्रौनगढलाई इतिहासको खुल्ला संग्रहालयको रूपमा लिने गरिएको छ । बलि नचढाइने संसारकै एकमात्र हिन्दु धर्मावलम्बीको शक्तिपीठको नामले परिचित कंकाली मन्दिर यसै क्षेत्रमा पर्छ । १२ औं शताव्दीमा तत्कालीन राजा शिवसिंहद्वारा निर्माण गरिएको महत्वपूर्ण राष्ट्रिय सम्पदा रानीबास मन्दिरले पनि आफ्नो छुट्टै पहिचान बोकेको छ ।

राष्ट्रकै सबभन्दा ठूलो पोखरा ‘५२ बिघा झरौखर पोखरा’ले पनि यसलाई थप रौनकता प्रदान गरेको छ । यस नगरकै हरिहरपुरमा अवस्थित एक विशाल पत्थरको बाकसको आफ्नै रहस्यमय सन्दर्भ छ । यस्तो ऐतिहासिक स्थल सिम्रौनगढलाई प्रदेश २ सरकारले राजनीतिक गर्ने थलोको रूपमा प्रयोग मात्र गर्ने गरिन्छ । पर्यटन वर्ष २०२० लाई ध्यानमा राखेर पर्यटन बोर्डले कात्तिकमा सार्वजनिक गरेको घुम्नैपर्ने स्थानहरूको सूचीमा सिम्रौनगढ पनि पर्दछ । सिम्रौनगढ जस्तो ऐतिहासिक ठाउँको विकास र प्रचारप्रसारमा कुनै कमि हुन दिनुहुँदैन ।लहानमा रहेको फुलबारीमा एउटा यस्तो फुल छ जुन वैशाख १ गते मात्र फुल्ने गर्छ र त्यो दिन त्यहाँ ठूलो मेला लाग्ने गर्छ त्यो ठाउँको प्रचारप्रसार कहिल्यै भएको सुनिदैंन । यदि त्यो ठाउँको प्रचार हुने हो भने मधेशको पर्यटनको लागि एउटा कोशेढुंगा सावित हुनसक्छ । त्यही सप्तरीमा रहेको स्वम्भुनाथमा रहेको शिवको मुर्ती दिनानुदिन बढ्दै जान्छ भन्ने पनि किम्बदन्ती रहेको छ । त्यहाँ वैशाखको पहिलो सातादेखि एक महिना मेला लाग्छ । मधेशमा यस्ता धेरै स्थानहरू रहेका छन् जसको आजसम्म न कुनै प्रचारप्रसार भएको छ घुम्न चाहनेहरूले आफैं खोजेर वा आफन्तको सहायताले त्यस्ता ठाउँहरू पुग्ने गर्छन् । मधेशमा यस्ता धेरै पर्यटकीय स्थलहरू छन् जो पर्यटकको पर्खाइमा बर्षौदेखि बसिरहेका छन् अब त्यस्ता पर्यटकीय स्थनाहरूको खोजी गर्ने समय आएको छ । प्रचारप्रसारमा ध्यान दिने र पूर्वाधार विकासमा केही पहल गर्ने हो भने मधेशका पर्यटकीय स्थानहरूले नेपाल भ्रमण वर्ष २०२० मा ठूलो योगदान दिनसक्छ । प्रदेश २ ले आफूसँग भएको पर्यटकीय प्रचूरतालाई पनि ध्यान दिने हो भने यसबाट मनग्यै लाभ र फाइदा लिन सक्छ । अब ‘अतिथि देवो भव’को मन्त्र जपेर मात्र नेपालमा पर्यटक भित्रिने छैनन् । हामी सबैले आफ्नो दैनिक व्यवहारमा पर्यटकलाई पृथक रूपमा नेपालीपनको सेवा दिने शैलीमा परिवर्तन गर्न जरूरी छ । अब हामीले पर्यटनको पनि संघीय संरचना तयार गर्न सक्नुपर्छ । यसमा जति ढिलाइ हुन्छ, क्षेत्रीय तथा विश्व प्रतिस्पर्धाबाट हामी त्यति नै पछि पर्न सक्छौं । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया