खसीको भन्दै बाख्रीको मासु बेच्‍ने व्यापारी पक्राउ

प्रकाशित मिति:

विराटनगर – खसीको भन्दै बाख्रीको मासु बेचेको आरोपमा एकजना मासु व्यापारी बिहीबार विराटनगरबाट पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद कयुव पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले कयुवलाई विराटनगर महानगरपालिका–५ भृकुटीचौकबाट पक्राउ गरिएको जानकारी दिए ।

गाउँबाटै बाख्री काटेर मासु बिक्रीका लागि विराटनगर लिएर आएका बेला उनलाई पक्राउ गरिएको गौतमले बताए । पाँच किलो मासुसहित पक्राउ परेका केयुवले बाख्रीको मासु ल्याइदिन अर्डर आएपछि आफूले लिएर आएको बताएका छन् । केयुवले कटहरीमै बाख्री काटेर बिक्रीका लागि मासु विराटनगर लिएर आउने गरेको खुलेको प्रहरीले जनाएको छ । डीएसपी गौतमले बाख्री पनि चोरी गरेर ल्याएर काटेको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताए ।

बाख्रीको मासु बिक्रीमा संलग्न कटहरी–१ का २२ वर्षीय मोहम्मद आरिफ भने फरार रहेको प्रहरीले जनाएको छ । केयुवलाई पक्राउ गर्नासाथ उनी फरार भएको गौतमले बताए । आरिफलाई खसीको भन्दै बाख्रीको मासु बिक्री गरिरहेको अवस्थामा विराटनगरको गुद्री बजारबाट छ महिना अघि पनि प्रहरीले पक्राउ गरेको थियो ।