घर–जग्गा खाली गर्न प्रेरणा शाहलाई ३५ दिनको म्याद

प्रकाशित मिति:

काठमाडौं/पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको भनिएको छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले ३५ दिने सूचना जारी गरेको छ। ट्रष्टले अदालतको फैसला कार्यान्वयन गर्न भन्दै शुक्रबार सूचना जारी गरेको हो।छाउनीको जग्गा दाइजोमा पाएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले दिएको रिटमा सुरुमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर राणा ९हाल प्रधान्यायाधीश० को संयुक्त विशेष इजलासले २०७२ असार ६ मा प्रेरणाकै पक्षमा निर्णय दिएको थियो। फैसला त्रुटीपूर्ण रहेको भन्दै नेपाल ट्रस्टको कार्यालयले दिएको पुनरावलोकनमा २०७३ पुस २१ गते अघिल्लो फैसला उल्ट्याउँदै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले उक्त घर–जग्गा दाइजो नठहरिने निर्णय सुनाएको थियो।

पूर्ण इजलासको फैसला कार्यान्वयनका लागि ट्रष्टले पत्र काटेपछि ‘गैरकानुनी’ भन्दै प्रेरणाले फेरि अर्को रिट दिइन्। पछिल्लो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले अघिल्लो फैसलाको मिसिल झिकाउने आदेश गरेको छ । प्रेरणाको यो रिट संवैधानिक इजलासमा विचाराधीन रहेकै अवस्थामा ट्रष्टले घर–जग्गा खाली गराउन सूचना जारी गरेको छ। ट्रष्टले काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एक आना एक पैसामा रहेको कम्पाउण्ड वालसहितको विजया घरसमेतको जग्गा धनी प्रमाण पुर्जा नेपाल ट्रष्टको कार्यालयको नाममा कायम भइसकेको जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।