गल्याङ जेसीजको अध्यक्षमा दर्वेन्द्रदेव खनाल निर्वाचित

प्रकाशित मिति:

स्याङ्जा /भर्खर सम्वन्धन प्राप्त गल्याङ जेसीजको पहिलो अधिवेशनवाट दर्वेन्द्रदेव खनालको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएका छन् । खनाल गल्याङ जेसीजको दोस्रो अध्यक्षको रुपमा नेतृत्व लिन सफल भएका हुन् । यस अगाडी संस्थापक महासचिवको भूमिकामा रहेका खनाल संस्थाको पहिलो अधिवेशनवाट अध्यक्षमा सर्वसम्मत नेतृत्व पाउन सफल भएका छन् ।शुक्रवार कालिगण्डकी यातायात व्यवसायी संघको सभाहलमा सम्पन्न अधिवेशनवाट कार्यकारिणी उपाध्यक्षमा गोपीकृष्ण रेग्मी र ऋषि बश्याल निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा ज्ञानेन्द्र पाठक, साधना न्यौपाने, प्रकाश भुषाल र गिता भट्टराई निर्वाचित भएका छन् ।सोही अवसरमा नवनिर्वाचित अध्यक्ष खनालले आफूले मनोनित गर्ने पदहरुमा कानुनी सल्लाहकारमा विष्णू अधिकारी, महासचिवमा खगेन्द्र भण्डारी, कोषाध्यक्ष सुनिल पाठक, सचिवमा रेश्मीराज न्यौपाने, तालिम निर्देशकमा पे्रम रेग्मीलाई मनोनित गरेका छन् । नवनिर्वाचित खनालले वाकी पदहरुमा पनि छिट्टै मनोनित गर्ने जानकारी गराएका छन् ।

कार्यक्रममा मातृशाखा वालिङका पूर्व अध्यक्षहरुले गल्याङ जेसीजका संस्थापक अध्यक्ष शिव खनाललाई जेसीजको लोगो अंकित चाँदीको माला पहिराई दिएका थिए । अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका यूवा नेता तथा समाजसेवी गुरुप्रसाद भट्टराईले गरेका थिए ।दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनको उद्घाटन गर्दै भट्टराईले जेसीजको आस्था र गरिमा बचाईराख्न मुलमन्त्रवाट विचलित नभईकन नेतृत्व विकास र समाजसेवामा लाग्न आग्रह गरेका थिए । जेसीजको आस्थापाठमा लेखिएजस्तो विधिको शासन स्थापित गर्न निर्धक्क भएर लाग्न गल्याङ जेसीजलाई आग्रह गरेका थिए ।कार्यक्रममा विशिष्ठ अतिथी नेपाल जेसीजका पूर्व उपाध्यक्ष अमृत अर्यालले निस्वार्थ मनोभाव लिएर सामाजिक सेवामा क्रियाशील हुन जेसीजमा आबद्ध सदस्यहरुलाई आग्रह गरेका थिए । उनले सामाजिक कार्यमा र यूवाहरुले नेतृत्वमा देखाएको क्षमता जेसीजको परिचय बनिसकेको भन्दै यो शाखालाई जोगाउन युवा नेतृत्वको जोश र जाँगर अझ वढनुपर्ने वताए ।

गल्याङ जेसीजका संस्थापक अध्यक्ष शिव खनालले संस्था स्थापनार्थ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष दर्वेन्द्रदेव खनालले आफ्नो कार्यकालमा जेसीजले गरेको मार्गनिर्देशनअनुसार सामाजिक काम गर्ने प्रतिबद्धता जनाएका थिए ।अधिवेशनमा नेपाली काँग्रेसका नेता गुणनिधी काफ्लेले नवनिर्वाचित कार्यसमितीलाई बधाइ तथा शुभकामना दिर्दै टिका तथा माला लगाईदिएका थिए । भने कार्यक्रममा मातृशाखाका अध्यक्ष राजु तिवारी, भिरकोट जेसीजका संस्थापक अध्यक्ष उमेश गुरुङ, मातृशाखाका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, गल्याङ उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कालिगण्डकी यातायात व्यवसायी समितीका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।