एमसिसी राष्ट्र हितमै रहेर पारित हुन्छ : प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति:

बाग्लुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) राष्ट्र हितको मूल्यांकन गरेर मात्रै पार्टी र सरकार निर्णयमा पुग्ने बताएका छन्।

प्रेस संगठन नेपाल बाग्लुङले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले एमसिसीबारे नेकपा र सरकारले विशेष मूल्यांकन गरेर मात्रै निर्णय गर्ने बताएका हुन्।

‘राष्ट्रियताका विषयमा नेपाली कुनै पनि कुरामा कम्प्रमाइजन गर्न चाहँदैनन् भन्ने कुरा विदेशीले पनि बुझ्ने मौका बन्यो एमसिसी,’ उनले भने, ‘यस बिषयमा आएका पक्ष र विपक्ष दुवै धारणा अतिरञ्जित छन्। उपयुक्त निर्णय हुन्छ।’ प्रवक्ता श्रेष्ठले सभामुख चयनमा पूर्व एमाले र पूर्वमाओवादी भन्ने विषय नआउने दाबी गरेका छन्।

‘अब पूर्वएमाले वा पूर्वमाओवादी भनेर भागबण्डा हुँदैन,’ उनले भने, ‘पूर्वएमाले र माओवादी इतिहास भइसक्यो।’ पार्टी एकीकरण भइसकेकाले पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा जायज नभएको उनको भनाइ छ। उनले उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क रहेको बताउँदै संसदको गतिरोधले छिट्टै निकास पाउने विश्वास व्यक्त गरे।