प्रदेश १ मा थपिँदै चार राज्यमन्त्री

५ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया

तस्बिर : बाह्रखरी

विराटनगर – प्रदेश १ सरकारमा आज चार राज्यमन्त्री थपिँदै छन् । प्रदेश मन्त्रीमण्डल गठन भएको करिब दुई वर्षपछि मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् ।

प्रदेश १ मा २०७४ फागुन ३ गते प्रदेश मन्त्रीमण्डल गठन भएको थियो । नयाँ मन्त्रीहरूमा अम्मिरबाबु गुरुङ भौतिक तथा पूर्वाधार मन्त्रालय, जसमाया गजमेर सामाजिक विकास, विजय विश्वास वन तथा वातारण र राम रानाले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । विश्वासबाहेक तीनजना पूर्वएमाले सांसद हुन् । मोरङका विश्वास एमाओवादीबाट निर्वाचित प्रदेशसभाका सांसद हुन् ।

गुरुङ ओखलढुंगा, गजमेर झापा र राना इलामबाट निर्वाचित सांसद हुन् । राना नेकपाका इलामका अध्यक्ष पनि हुन् । नयाँ मन्त्रीहरूको दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने तयारी गरिएको छ । नेकपा प्रदेश कमिटीको शनिबार विराटनगरस्थित प्रदेश कार्यालयमा बसेको बैठकले दुई खाली मन्त्रालयमा मन्त्री नियुक्त गर्न सुझाएको थियो । मुख्यमन्त्री शेरधन राईले कृषि र भौतिक पूर्वाधारमा राज्य मन्त्री मात्र नियुक्त गरी दुवै मन्त्रालयको जिम्मेवारी आफैंले लिइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया