सूचना प्रविधि विधेयक विरुद्ध रुपन्देही कांग्रेसले बुझायो ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल –  नेपाली काँग्रेस रुपन्देहीले आईतवार पार्टी कार्यालय भैरहवावाट निकालेको विरोध जुलुस सहितको र्याली वजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई प्रधानमन्त्रीको ज्ञापनपत्र बझाएको हो । नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकको नेतृत्वमा जिल्लाभरीवाट आएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको सचिव रामकृष्ण खाँणले बताउनु भयो । ज्ञापनपत्र बुझाएपछि आयोजित सभामा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले नागरिक अधिकार र नागरिक स्वतन्त्रता बिरुद्ध सरकारले बिधेयक ल्याएको र नागरिक स्वतन्त्रता बिना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसले विधेयकको बिरोध गरेको बताउनु भयो । विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले नागरिक अधिकार रक्षाकालागि बिधेयकको बिरोध गरिएको वताउदै पूर्व राज्यमन्त्री समेत रहनु भएका पार्टी सभापति रज्जाकले बिधेयक नेपाली काँग्रेसले कुनैपनि हालतमा पास हुन नदिने दावी गर्नुभयो ।

संविधान प्रदत्त नागरिक अधिकार कसैले पनि खोस्न नपाईने भएकोले नागरिक अधिकार रक्षाकालागि नेपाली काँग्रेसले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने रज्जाकले बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति राचन्द्र ढकाल र प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले पत्रकार स्वतन्त्र नभएको मुलुकमा लोकतन्त्र वलियो र दीगो हुन नसक्ने भन्दै मौलिकहर्क विरुद्ध ल्याईएका कानुन तत्काल फिर्ता लिन माग गर्नु भएको थियो । उक्त विधेयकमा विचार तथा अभिव्यक्ति लेखेकै भरमा पाँच वर्ष जेल र १५ लाख रुपैया जरिवाना वा दुवै सजाँय सहितको कठोर दण्ड व्यवस्था गरिएको छ ।

हेर्नुहोस् ज्ञापनपत्र

मिति : २०७६–माघ –०५ गते
सम्माननिय प्रधानमन्त्री ज्यू ,
मार्फत
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय रुपन्देही

                                                             विषयः बिरोधपत्र बारे ।
संघिय लोकतान्त्रीक गणतन्त्रको सविधान २०७२ को मर्म र भावना अनुसार जनताको अभिमत लिएर तपाईको नेतृत्वमा सरकार गठन पश्चात तपाई संविधानको मर्म र भावना विपरित नागरिक स्वतन्त्रता, विधिको शासन , प्रेस स्वतन्त्रता, संवैधानिक अंगहरुमाथि अंकुश लगाउने, बहुदलबाद, मौलिक हक अधिकारलाई कुन्ठीत गर्ने काम निरन्तररुपमा अगाडी बढाई राख्नु भएको छ । त्यसको पुष्टी नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक तथा संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सुचना प्रविधि विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन् गर्न लागेको विषय अत्यन्तै गंभिर छ ।

यस्ता स्वेच्छाचारी र स्वतन्त्रता विरोधी विधेयकहरुले लोकतन्त्रको आत्मा मानिएको अभिब्यक्ति स्वतन्त्रताको हत्या हुने निश्चित छ । नागरिकको “फोन ट्यापिङ्ग” समेत गर्न सक्ने , सामाजिक सञ्जालमा कसैलाई ब्यङ्ग गरे बापत पाँच वर्ष जेल र १५ लाख जरिवाना तिर्नु पर्ने जस्ता प्रावधानले ब्यक्तिगत गोपनियताको संबैंधानिक अधिकार हनन हुने र आलोचना एवं ब्यङ्ग गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षड्यन्त्रमा वर्तमान कम्युनिष्ट सरकार लागेको छ ।

यस्ता जनविरोधि विधेयकहरु कुनै पनि हालतमा नेपाली जनतालाई स्विकार्य हुँदैन । यसर्थः नेपाली कांगे्रसले लोकतन्त्रको मर्म र भावना विपरित आउने जुनसुकै कदमलाई स्विकार नगर्ने र नागरिक स्वतन्त्रताको पक्षमा सदन र सडकबाट प्रतिकार गर्दै लोकतान्त्रीक मूल्य र मान्यता स्थापित गराउन लागि रहने प्रण गर्दछौं ।
जय नेपाल

अब्दुल रज्जाक
(सभापति )