सीडीओेमार्फत सरकारलाई देशभरबाट काँग्रेसको विरोधपत्र

प्रकाशित मिति:

काठमाडौं – प्रमुख विपक्षी नेपाली काँग्रेसले सूचना प्रविधि र विशेष सेवा विधेयक सच्याउन माग गर्दै सरकारलाई देशभरबाट विरोधपत्र पठाएको छ । काँग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएका हुन् । पुस १७ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकाल्दै ७७ जिल्ला प्रशासन कार्यालयमार्फत सच्याउन माग गर्दै पुस २८ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

केन्द्रीय कार्यसमितिले तय गरेको मितिमा विरोधपत्र बुझाउन असम्भव भएपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आइतबार बुझाउने निर्णय गरेको थियो । सोही अनुसार आज काँग्रेस जिल्ला कार्यसमितिहरुले विरोधपत्र बुझाएका हुन् । काठमाडौं काँग्रेस जिल्ला कार्यसमतिका नेता कार्यकताले माइतीघर मण्डलाबाट जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोधपत्र बुझाए । पार्टी प्रवक्त विश्वप्रकाश शर्माले सबै जिल्ला कार्यसमितिले विरोधपत्र बुझाइ सकेको बताए ।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्थाको काँग्रेसले विरोध गरेको छ । यस्तै विशेष सेवा विधेयकमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका प्रावधान सच्याउनु पर्ने काँग्रेसको माग छ ।