सेयर बजारमा दुई अर्बको कारोबार, नेप्सेमा ३३ अंकको सुधार

प्रकाशित मिति:

काठमाडौं – सेयर बजारमा उल्लेख्य सुधार आएको छ । साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचक ३३ दशमलव ४३ अंकले बढेको हो भने कारोबार रकमले २ अर्ब रुपैयाँ नाघेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार यसदिन नेप्से परिसूचक ३३ दशमलव ३४ अंकले बढेर १ हजार ३ सय ४३ दशमलव ६५ अंक कायम भएको हो । परिसूचक २ दशमलव ५५ प्रतिशतले बढेको दिन सेन्सिटिभ इन्डेक्समा पनि ५ दशमलव ५२ अंकको सुधार आएर २ सय ८८ दशमलव ३९ अंकमा कायम भयो ।

नेप्से बढेको दिन बजारमा कारोबार रकम २ अर्ब रुपैयाँ नाघेको छ । यसदिन १ सय ७८ कम्पनीका ६१ लाख ३१ हजार कित्ता सेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार रुपैयाँमा किनबेच भए । लामो समय सुस्त बनेको सेयर बजारमा पछिल्लोपटक तरंगित हुन थालेको छ । सेयर बजारमा लगानीकर्ताको उपस्थिति बढ्न थालेको छ । परिसूचकमा पनि प्रतिदिन उच्च सुधार आउन थालेको छ । विशेषगरी नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउनु, बजारमा लगानीयोग्य रकमको अभाव नहुनु, ब्याजदर घट्ने हल्ला सुनिनु, सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक देखिनु र सूचीकृत कम्पनीहरूले पनि राम्रो प्रतिफल दिँदा कारोबारसँगै परिसूचक पनि बढेको हो ।

कारोबारमा आएका ट्रेडिङबाहेक आइतबार सबै समूह उकालो लागे । बढ्नेमा निर्जीवन बिमा समूह सर्वाधिक ६ दशमलव ४५ प्रतिशत (३ सय ३७ दशमलव शून्य २ अंक) र जीवन बिमा समूह ६ दशमलव शून्य २ प्रतिशत (४ सय ३ दशमलव २५ अंक) ले बढे । कारोबार रकम उच्च भएको दिन हिमालयन डिस्टिलरीको १२ करोड १५ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भए । यसदिन शिवम् सिमेन्टको पनि १० करोड रुपैयाँको सेयर कारोबार भए । नेप्से बढेको दिन चार कम्पनीका सेयर धनीले १० प्रतिशत कमाएका छन् । यसदिन लक्ष्मी इक्विटी फन्ड, हिमालयन जेनेरल इन्स्योरेन्स, प्राइम लाइफ, जानकी फाइनान्स, सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए । नेप्से बढेको दिन स्वाभिमान लघुवित्तको सेयर मूल्य भने करिब ७ प्रतिशतले घट्यो । नेप्से बढेको दिन लगानीकर्तामा अर्थमन्त्री युवराज खतिवडा पदबाट बाहिररिने हल्लाले प्रभाव पारेको जानकार बताउँछन् । यसबाहेक तरलता घट्दै गएको अवस्थामा केही समयको सुधारले आइतबार पनि लय समातेको उनीहरूको भनाइ छ ।