आकासियो उपभोक्ताको भान्सा

प्रकाशित मिति:

प्रेम सिंह /काठमाडौं- नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले उपभोक्तासँग प्रत्यक्ष जोडिएको उपभोग्यवस्तुको मूल्य बढेको देखाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनाको तथ्यांकमा मूल्यवृद्धि बढेको देखिएको हो ।तथ्यांकका अनुसार २०७६ मंसिरमा वार्षिक समग्र मुद्रास्फीति ६।५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३।७१ प्रतिशत रहेको थियो ।यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९।७६ प्रतिशत देखाउको छ ,जुन गतवर्ष यही समयमा ०।४६ प्रतिशत मात्र थियो । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने घटेर ४।१० प्रतिशत देखिएको छ, जुन गत वर्ष यही समयमा ६।३४ प्रतिशत थियो ।

काठमाडौं उपत्यकामा ७।६० प्रतिशत, तराईमा ६।६६ प्रतिशत, पहाडमा ५।२७ प्रतिशत र हिमालमा ४।८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३।६८ प्रतिशत, ३।६५ प्रतिशत, ३।८४ प्रतिशत र ४।०५ प्रतिशत मुद्रास्फीति रहेको देखिएको छ ।तथ्यांक अनुसार २०७६ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८।९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ७।१८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ ।उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूजीगत वस्तुको थोकमूल्यवृद्धि क्रमशः २०।४४ प्रतिशत, ३।९२ प्रतिशत र २।३४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामाग्रीको थोक मूल्य ५।१६ प्रतिशतले घटेको छ ।