प्रतिनिधिसभाको बैठक आज, सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

६ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
51 Shares


काठमाडौं – प्रतिनिधिसभाकाे बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्न लागेकाे हाे। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख उम्मेदवारको टुंगो लगाउन नसक्दा यसअघि बैठक पटकपटक स्थगित भएकाे थियाे। पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएकाे थियाे। नेकपाले हिजाे सभामुखकाे उम्मेदवार टुंगाे लगाएपछि आज बैठक बस्ने निश्चित भएको हो। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ। आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो।

सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएकाे छ। नेकपाले सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने सम्भावना छ। नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यसअघि नै आग्रह गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया