महिलाहरुलाई यसकारण मन पर्दैन दाह्री

प्रकाशित मिति:

एजेन्सी – केही समय अगाडि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रड्यु पहिलोपटक दाह्रीमा देखिँदा अधिक चर्चामा आएका थिए । उनको नया ‘लुक’ तत्कालै ट्वीटरमा नम्बर १ मा ट्रेन्डिङ भएको थियो । यसरी पछिल्लो समय पुरुषहरुले दाह्री पाल्ने चलन अधिक लोकप्रिय भएपनि कतिपय महिलालाई भने दाह्री आकर्षक लाग्दैन जसपछाडिको कारण वैज्ञानिकहरुले पहिलोपटक पत्ता लगाएका छन् । दाह्रीले मान्छेलाई सुन्दर बनाउने वा कुरुप देखाउने भन्ने पुरुषहरुमै निर्भर हुन्छ धेरै अवस्थामा मुखै छोप्नेगरी पालिएको त्यही दाह्री फोहोरी पनि लाग्न सक्छ ।

वैज्ञानिकहरुका अनुसार विशेषगरी किरासँग डराउने महिलाहरुले दाह्री मन पराउँदैनन् । दाह्रीलाई अनाकर्षक मान्ने महिलाहरुले आफूले थाहै नपाइ अचेत अवस्थामा त्यसमा हुन सक्ने किटाणु वा जुम्रा लगायतका जीवाणुसँग डराउने गरेकाले नै उनीहरुले दाह्री भएका पुरुष नरोज्ने गरेको बताइएको छ । प्रत्यक्ष भन्न नसक्दा उनीहरुको अचेत मस्तिष्कमा त्यस किसिमको सोच हुने हुनाले नै दाह्री राम्रो नलाग्ने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

प्राकृतिक रुपमा भने दाह्री लगायत शारीरिक विशेषताहरु विपरित लिङ्गलाई आकर्षित गर्नकै लागि विकसित भएका हुन्छन् जसकारण दाह्रीलाई सबैभन्दा राम्रो पुरुषत्व गुण मानिन्छ । यसबीच २०१३ मा गरिएको एक अनुसन्धानमा महिलाहरुले कुन स्तरको दाह्रीलाई सबैभन्दा बढी आकर्षक ठान्ने गरेको भन्नेबारे अध्ययन गरिएको थियो । यसमा सहभागी महिलाहरुले धेरै दाह्री भएकालाई सबैभन्दा बढी आकर्षक, थोरै भएकालाई दोस्रो स्थानमा राखेका हुन् भने दाह्री विहिन सफा अनुहारलाई चाहिँ कम आकर्षक भनि मूल्यांकन गरेका थिए ।

मंगलबार रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित नयाँ अध्ययनमा पनि पहिले त महिलाहरुले स्त्रीको जस्तो चिल्लो अनुहार भन्दा धेरै रौँ र दाह्री भएको पुरुषलाई आकर्षकको सूचीमा राखेका थिए । छोटो अवधि वा जीवनसाथी जुन सकुनै परिस्थितिमा पनि महिलाहरुले दाह्री भएकालाई नै बढी मन पराएका हुन् । तर यसबीच किरा र किटाणुहरुको विषय ल्याइएपछि भने उनीहरुको प्रतिक्रिया परिवर्तन भाएको हो । यसमा जीवाणुहरुप्रति बढी घिन मान्ने र किराहरुसँग डराउने महिलाहरुले दाह्री भएका पुरुषलाई अनाकर्षक वर्गमा राखेका थिए ।

यो निष्कर्ष वास्तवमा वैज्ञानिक हिसाबले पनि तार्किक साबित भएको बताइएको छ । किनकि हाम्रो शरीरमा रोगयुक्त जीवाणुको जोखिम कम गराउनकै लागि अन्य जीवको तुलनामा मान्छे कम रौँका साथ विकिसित भएको हो । त्यस्तै विभिन्न अवसरमा अमेरिका, चीन, न्युजिल्यान्ड, फिनल्यान्ड ब्राजिल, स्लोभेकिया, चेकोस्लोभाकियादेखि टर्कीसम्म गरिएका विश्वव्यापी सर्वेक्षणमा पनि महिलाहरुले पुरुषको छातिमा रौँ नभएको नै मन पराउने गरेको देखिएको छ । तर दाह्री पाल्ने बुवासँग हुर्किएका महिलाहरुले भने यसलाई आकर्षक मान्न सक्ने वैज्ञानिकहरु बताउँछन् । – सीएनएन