उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने

प्रकाशित मिति:

काठमाडौं – प्रतिनिधिसभाकी उपसभाुमख डा. शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भएकी छिन् । उनले आज संसद बैठक बस्नुअघि नै संसद सचिवालयमा राजीनामा दिने भएकी छन् । आजको संसद बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यको रुपमा राजपा नेपालका सांसद महन्थ ठाकुरले गर्ने भएका हुन् ।

तुम्बाहाङ्फेले आजको संसद बैठक सकिएलगत्तै बानेश्वरमा आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । बलात्कार अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजिनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त थियो।

सोमबार बस्ने संसद बैठकले रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना तर्फबाट सभामुखको उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाल गौतमलाई उठाउने बुझिएको छ ।