कोरोना भाइरस अमेरिकामा पनि भेटियो

प्रकाशित मिति:

                                        ‘स्वरूप परिवर्तन गरेर मानिसबाट मानिसमा सर्न सक्ने’

विविसी-चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन्। उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्।चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ।राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण चरणमा रहेको स्वीकार गरेका छन्।

अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मङ्गलवार गरेका थिए। श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ।द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो।चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु भएको हो। अहिलेसम्म नौजनाको ज्यान गइसकेको छ।

एकजना पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ।सीडीसीका अनुसार उक्त भाइरसबाट सङ्क्रमित अमेरिकी पुरुष गत ज्यानुअरी १५ तारिखमा वुहानबाट फर्केका थिए।ती बिरामी वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका थिए , विज्ञप्तिमा भनिएको छ, उनले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको थियो।

त्यो भाइरसको सङ्क्रमण रहेको पुष्टि ज्यानुअरी २० तारिखमा भएको थियो।गत हप्ता वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई पनि भाइरसको सङ्क्रमण रहेको शङ्का गर्दै चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले बताएको थियो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।

 ज्वरो आउनु र खोकी लाग्नु
 छिटोछिटो सास फेर्नु
 श्वासप्रश्वासमा कठिनाइ हुनु
 गम्भीर भएमा निमोनिया हुनु
 सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
 मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

 नियमित रूपमा हात सफा गर्ने
 खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
 मासु र अण्डा राम्रोसँग पकाएर खाने
 कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने