सुरक्षा माग गर्दै मनाङेविरुद्ध उजुरी

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


पोखरा – प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको झापड खाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सुरक्षा माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने बताएका छन् । यो समाचार तयार पार्दासम्म उनले उजुरी भने नदिएको प्रहरी र प्रशासनले जानकारी दिएको छ । मंगलबारको घटनापछि बुधबार पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्षले जीउधनको सुरक्षा माग गर्दै निवेदन दिने बताएका हुन् । मंगलबार नै उनले निवेदन दिन खोजे तापनि प्रहरीले रितपूर्वक जाहेरी नआएको भन्दै फर्काएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै उनले, आफू संयमित नभएको भए प्रदेशकै पहिलो मुख्यमन्त्री कप फुटबल प्रतियोगिता नै रोकिन सक्ने बताए ।
“मैले गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सफल बनाउनेछु, म पनि वादविवादमा उत्रेको भए, ऊ (मनाङे) र मेरो बिचमा केही फरक हुने थिएन, म संयमित भएँ, सांसदको मान राखिदिएँ ।” उनले भने ।

मंगलबारदेखि पोखराको भण्डारढिकमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रममा आउनुपूर्व उनकै सत्तारुढ दल नेकपाका सांसद मनाङेले सार्वजनिक रुपमा नै तीन झापड प्रहार गरेका थिए ।

झापडपछि एन्फाका अध्यक्षले दिएको प्रतिक्रिया बुधबारको पत्रकार सम्मेलनमा दोहोर्‍याउँदै कानुनी उपचार खोज्ने बताएका हुन् । यस्तै, पत्रकार सम्मेलनमा उपस्थित एन्फाका केन्द्रीय उपाध्यक्ष तथा अहिले सञ्चालन भएको फुटबल प्रतियोगिताका संयोजक कृष्ण थापाले एन्फामाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । मनाङेले एन्फाका पदाधिकारीहरूले करोडौँ खर्चेर चुनाव लडेको र अहिले सबै कमाउधन्दामा लागेको आरोप लगाएका थिए ।

उक्त आरोपको खण्डन गर्दै थापाले भने, “एन्फामाथि भ्रष्टाचारको आरोप लगाउनुभएको छ, त्यसलाई प्रमाणित गर्नुप¥यो । आरोपमात्रै लगाएर उम्किन त पाइँदैन नि ?” यसको पनि कानुनी उपचारमा जाने उनले बताए । “सार्वजनिक ठाउँमा त्यसरी हातपात गर्न पाइन्छ ? सांसद भन्दैमा जे पनि छुट त हुँदैन होला, हामी पनि कानुनी उपचारमा जानुपर्‍यो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया