धेरैलाई थाहा नभएको महाकवि देवकोटाका ६ सत्य

प्रकाशित मिति:

महाकवि लक्ष्मीप्रसाद देवकोटा गरिब थिए भनेर परम्परागत व्याख्या भएको छ । आज देवकोटा जयन्तीको अवसरमा देवकोटाका बारे विभिन्न विषयहरु सार्वजनिक हुन्छन् । देवकोटा गरिब थिएनन् भन्ने कुरा आजकल चाहिँ आउन थालेको छ ।

राणाकालमा डिठ्ठा, विचारीहरु नै सम्पन्न हुन्थे । चल्तीका राणाका छोराछोरीलाई ट्यूसन पढाउने देवकोटा गरिब थिए भनेर कसरी भन्न सकिन्छ । त्यति मात्रै होइन देवकोटा त्रिचन्द कलेजका प्रोफेसर, नेपाली भाषा प्रकाशन समितिका लेखक अथवा भनौं जागिरे थिए । उनी मन्त्री पनि भएका थिए । यस्ता मान्छे गरिब थिए भन्नु चाहिँ परम्परागत सोच मात्रै हो । लेखक कविचाहिँ गरिब नै हुनु पर्छ भन्ने सोचाई थियो, केही हदसम्म अहिले पनि छ ।

त्यो बेला नेपालबाट आइएकै जाँच दिन पाइन्न थियो । नेपाली भाषामा एउटा पनि महाकाव्य नभएको अवस्था थियो । जसका कारण नेपालमै परिक्षा दिन नेपाली भाषालाई स्थापित गराउन देवकोटालाई लेखक नियुक्त गरिएको थियो । देवकोटाले १० दिनमा ‘सुलोचना’ महाकाव्य लेखिदिए । त्यसपछि नेपालबाटै आइएको परिक्षा दिने व्यवस्था भयो ।

देवकोटाका ‘गणेश’

देवकोटा धाराप्रवाह कविता सिर्जना गरिदिन्थे । छिटो कविता सिर्जना हुने तर लेख्न समय लाग्ने भएपछि उनले श्यामदाश वैष्णवलाई सहायक लेखकमा नियुक्त गरे । श्यामदास वैष्णव अहिले पनि जिवीत हुनुहुन्छ । उहाँको अक्षर पनि राम्रो र छिटो लेख्न सक्नुहुन्थ्यो । देवकोटा भन्ने, श्यामदास वैष्णव लेख्ने गर्नुहुन्थ्यो । जसका कारण सुलोचना दश दिनमै सकियो ।

पैसा अभावमा उपचार नभएको गलत

पागल भएर देवकोटालाई राँची पुर्याइएको कुरा स्पष्ट छैन । उहाँले राँचीबाट आएपछि ‘पागल’ कविता लेख्नुभएको भनिएको छ । अहिले नै अन्तिम स्टेजको क्यान्सको उपचार हुँदैन भनेपछि त्यो बेला उपचार सम्भव नभएको पनि हुन सक्छ । पैसाकै अभावमा उनको उपचार नभएको भन्ने मलाई लाग्दैन । आफ्नो जीवनको अन्तिम समयमा देवकोटोले ‘आखिर श्रीकृष्ण रहेछन् एक’ भन्ने कविता आफ्ना मित्र हरि श्रेष्ठलाई उपहार दिएका थिए । देवकोटोले अस्पतालको बेडबाट त्यो कविता भने, श्रेष्ठले लेखेका हुन् ।
उनी अत्यन्त भावकु थिए । उनको भावना कवितामा धाराप्रवाह प्रष्फुटित हुन्थ्यो ।

देवकोटाको विरोध
रुसको तासकन्दमा देवकोटाको टोली जाँदा नेपालमा ठूलो विरोध भयो । उनको विरोधमा केदारमान व्यथित, शिद्धिचरण श्रेष्ठलगायतले ‘द कमनर’ पत्रिकामा समाचार नै छपाए । देवकोटाविरुद्ध माइन्यूट नै गरिएको थियो । रुस जाँदाको टोली समान प्रतिनिधिमुलक भएन भन्ने आरोप उनीहरुले लगाएका थिए । देवकोटा रुस पुग्नु अघि नै उनको विरुद्ध समाचार छापिएको पत्रिका पुगिसकेको थियो ।
जीवनको अन्तिम समयमा आर्यघाटमा देवकोटाको अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ता लिने अहिलेका सम्मानीत एक कवि थिए । अन्तर्वार्तामा अन्तर्वार्ता लिनैकै विरुद्ध पनि देवकोटाले बोले । जसका कारण त्यो अन्तर्वार्ता लुकाइयो भन्ने चर्चा छ । त्यो ऐतिहासिक अन्तर्वार्ता केही समय नेपाल–भारत सांस्कृतिक केन्द्रमा राखिएको पनि चर्चा थियो ।

देवकोटा घरलाई संग्राहलय बनाउने कुरा

प्रदिप नेपाल सञ्चारमन्त्री हुँदा ५१ सालमा उहाँले देवकोटाको घरलाई संग्राहलय बनाउन आफैले नेतृत्व लिनु भएको थियो । घर रहेछ एक अविवाहीत छोरीसहित तीन जनाको भागमा परेको अंश । त्यसलाई ३ करोड मूल्यांकन गरेर सरकारले खरिद गर्ने योजना बनायो । देवकोटा परिवारसँग भएका दुई वार्ता सकारात्मक भए । तेस्रो वार्तामा घरको मूल्य पाँच करोड पुर्याइयो । देवकोटका छोरा डा. पदमप्रसाद देवकोटोले दिदीबहिनीहरुले मानेन्, मिलेन, भन्ने जस्ता कुरा झिक्नु भयो । जसका कारण महाकवि देवकोटाको घरलाई संग्राहलय बनाउने कुरा त्यसै सेलायो । देवकोटाको सम्मान आम जनताले गरे । राष्ट्रले पनि गरेको छ । तर उहाँको सन्तानबाट भने त्यस्तो कुनै काम भए झै लाग्दैन । महाकविको घर आजसम्म वेवारिसे जस्तो बनेको छ । यो नमिठो लाग्ने सत्य हो ।

फिल्ममा लफडा
चलचित्र निर्देशक यादव खरेलले बनाउनु भएको ‘महाकवि देवकोटा’ फिल्मका विषयमा पद्मप्रसादका कारण लफडा भएको थियो । नेपाल सांस्कृति संस्थानको लगानीमा देवकोटाको जीवनीमा आधारित फिल्म बन्यो । त्यसमा सरुभक्तले पनि काम गर्नुभएको छ । त्यो फिल्मको सब टाइटल अंग्रेजीमा पनि राख्ने कुरा भयो । अंग्रेजीमा राख्ने भने पछि त्यो काम देवकोटाकै छोरा पद्मप्रसादलाई दिने सल्लाह भयो । पद्मप्रसादले लक्ष्मीप्रसाद देवकोटा आफ्नो पिता भए पनि महाकवि चाहिँ राष्ट्रको भएकोले सब टाइटल लेखेको पैसा माग्नुभयो । यसले पनि महाकवि बारे अध्ययन अनुसन्धान गर्ने मामिलामा उनका सन्तानको योगदान देखिदैन भन्ने प्रष्ट पार्छ ।
त्यसपछि पद्मप्रसादले गालीगलौजसमेत भएको आठ पेजको चिठ्ठी मधुपर्कका लागि लेख्नुभयो । तर मैले यस्तो गालीगलौज भएको चिठ्ठी छाप्दीन भने । अहिले पनि त्यो चिठ्ठी मसँग छ ।

देवकोटामा इश्वरीय प्रतिभा
देवकोटाको समयमा उनले लेखेका कविता उत्कृष्ट हुन् । त्यो बेलाका लागि देवकोटाले लेखेका कवितासँग टक्कर दिने कुनै पनि र कोही पनि थिएनन् । तर अहिले देवकोटाकै स्तरका कविता लेख्ने श्रष्टाहरु छन् । तर उनको जस्तो सिर्जनशिलता भएका कवि शायदै नेपालमा फेरि जन्मन्छन् । दुई वटा हातले दुईवटा कपिमा कविता लेख्न सक्ने, छ भाषामा फर्र्र कविता वाचन गर्न सक्ने यस्तो अद्भूत प्रतिभा पाउन दूर्लभ छ ।