गल्ती

प्रकाशित मिति:

माघ,९

-सुधीर न्याैपाने 

गल्ती सबै उसको हो।

कहाँ? कस्तो? के? किन? कसरी?… जस्ता सवालका जवाफहरु थाहै नभई, नबुझी एकोहोरो बोलिरहेछ।
उही रटान दोहोर्याइरहेछ।
कति अबुझ छ ऊ। ऊ किन बुझ्न चाहदैन्, यी यावत कुराहरु।

ऊ यसरी भनिरहेछ, बोलिरहेछ, धम्क्याइरहेछ… कि मानौँ ‘सिक्काको पाटो एउटै मात्र हुन्छ’, अर्को हुन्न।

ऊ केहि सुन्नै चाहदैन्। मलाई उसले केहि नबुझेकोमा झिँजो लाग्छ। खासमा मलाई उसले केहि नबुझेको भन्दा पनि बुझ्न नचाहेको या नबुझे जस्तो  गरेको हो जस्तो लाग्छ।

उसका ती एकनासे कुराहरु मलाई सुन्नु नै छैन्। फगत: म कान बन्द गर्छु। म उसका कुराहरु सुन्नै चाहन्न। कस्तो खालको मान्छे होला त्यो, अबुझ…।
कति स्वार्थी हो त, मेरै गोरुको बाह्रै टक्का जस्तो गरिरहेछ। मैले उसको कुरा नसुनेको, सुन्न नचाहेकोमा ऊ रिसाउँछ। कस्तो खालको रिस हो उसको यो, एकोहोरो।

उसले भनेजस्तो हुन सकेकै छैन्, सक्दैन पनि।
कसरी हुन्छ?
यस्तो डरलाग्दो अवस्था छ यहाँ।
भद्रगोल छ सबथोक।
रनभुल्लमा छु म।
भर्खरै मात्र बुझेको छु मैले, उसले भनेजस्तो हुन सक्दैन्।
तर ऊ भने एकतमासले  जिद्दी गरिरहेछ, उसैले भनेजस्तो हुनुपर्छ भनेर। मेरो दिमाग तातिरहेको छ। केही उपाय सोच्नै सकेको छैन्।

सबै कुरा मेरो प्रतिकुल भै’रहेका छन्।
यस्तो लाग्छ हरेक घटना, परिस्थिति, समय… मेरो विपरीत भैरहेका छन्। मौसम, नेटवर्क… मेरो विपरीत भएका हुन कि मलाई साथ दिएका हुन उसको बोली सुन्न नसकिने/नमिल्ने वातावरण बनाइदिएर।
अब मैले के जवाफ दिने?

तर पनि गल्ती मेरो कहाँ हो र?
उसले बुझ्नु पर्दैन… हरेक कुरा?
कुनै पनि कुराको जानकारी नलिई जे पनि बोलेर हुन्छ?
यहाँको भूगोल, वस्तुस्थितिको बारेमा केही थाहा नपाए पनि सबै थाहा पाए जस्तो गरेर हुन्छ?

यो सब उसको गल्तीले भएको हो।
उसको गल्तीको परिणाम म भोगिरहेछु।
म त्यसै त्यसै रन्थनिएको छु, के गर्ने, के नगर्ने भन्ने मेसो नपाएर।
मेरो दिमागले कति कुराहरु सोचिरहेको छ, तर पनि कुनै अचुक उपाय खोज्न सकेकै छैन्।

मेरै छेउको मान्छेलाई हेर्छु, कति निष्फिक्री निदाइ रहेछ ऊ। उसलाई कुनै कुराको चिन्ता छैन्।

केहि नसुझेपछि म त्यसै त्यसै सडकमा भौतारिन पुग्छु।
कहाँ जाने के गर्ने भन्ने मेसो बिना, गन्तव्य बिना म सडकमा हिँडिरहेको छु।

बस्! हिँडिरहेको छु।
मेरो दिमागमा यही कुरा घुमिरहेको छ कि गल्ती उसैको हो।

उसैको हो।
तर पुग्ने कहाँ भन्ने ठेगान बिना नै सडकमा लगभग एक घन्टा भौतारिएपछि म पूर्ववत ठाउँ मै फर्कन्छु, जहाँबाट म सडकमा भौतारिन सुरु गरेको हुन्छु।

कहाँ? कस्तो? के? किन? कसरी?… एकाएक यी सवालहरु मै तर्फ तेर्सिन्छन्।
उसले मलाई जबरजस्ती घचेटेको हो?…
मेरो आँखामा कालो पट्टी बाँधिदिएर भागेको हो?…
भूगोल र वस्तुस्थितिको बारेमा उसले मलाई किन जानकारी दिएन? जानकारीका लागि के ऊ नै अन्तिम विकल्प बाँकी थियो त?…

त्यो एक घन्टा भौतारिदा मैले थाहा पाएँ सिक्काको अर्को पाटो पनि हुँदो रहेछ।

ऊ प्रतिको रिस त्यसै मरेर गयो।

मस्तिष्कमा कोरिए यी शब्दहरु ‘म हिटलरलाई गलत देख्छु भने गल्ती हिटलरको होइन्, मेरो हो। आफुलाई सहि र अरुलाई गलत देख्ने मेरो अन्धो मानसिकताको उपज हो यो।’