बाह्य नीतिमा बहुआयामिक गतिशीलता

प्रकाशित मिति:

काठमाडौँ – परराष्ट्र मन्त्रालय बहुआयामिक क्षेत्रमा पहुँच विस्तार गरी राष्ट्रको छवि उच्च पार्न सक्रिय रहेको छ । विगतमा राष्ट्रिय हितको सुरक्षा गर्दै असल छिमेकी सम्बन्ध कायम गर्ने मान्यताबाट मात्र निर्देशित गतिलाई ‘नयाँ र बहुआयामिक’ आयाम दिइएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भन्नुहुन्छ, “हामीले हाम्रो भूराजनीतिक उपस्थितिलाई विशेष रूपमा बुझेका छौँ, त्यसैले अब दुई ढुङ्गाबीचको तरुलको व्याख्या बदल्न चाहन्छाँै ।” उहाँले भन्नुभएझैँ विश्वमा छिटो आर्थिक विकासको बाटोमा अग्रसर भइरहेका राष्ट्रहरूमध्ये नेपाल उत्कृष्ट १० भित्र पर्छ । नेपालको परराष्ट्र नीतिको उद्देश्य र सिद्धान्त राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्नु, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान गर्नु, नेपाली सभ्यता, संस्कृति र पहिचानको प्रवद्र्धन गर्नु हो ।

यसैगरी विदेशमा रहेका नेपालीको सुरक्षा र स्वाभिमानको रक्षा गर्नु, सबैसँग मित्रता राख्दै कसैसँग पनि शत्रुता नगर्नु, पञ्चशील र असंलग्नताको सिद्धान्तसँगै संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्वशान्ति कायम राख्ने अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु नेपालको दायित्व रहेको छ । मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालयको बहुआयामिक गतिलाई स्पष्ट पारिएको छ ।

सार्वजनिक सेवालाई बढावा छिमेकी सम्बन्धलाई बढावा दिँदै विकास साझेदार र शक्ति राष्ट्रसँगको सम्बन्ध सुदृढ तुल्याउने, वैदेशिक रोजगार दिने मुलुकको गन्तव्य विस्तार गर्ने, क्षेत्रीय र बहुआयामिक सहकार्य, आर्थिक कूटनीतिको विस्तारसँगै सार्वजनिक सेवा प्रवाहलाई बलियो बनाउने लक्ष्य मन्त्रालयको छ । जम्मा १० शाखा र दुई मुख्य विभागबाट मन्त्रालयको कामकाज व्यवस्थित हुने गरेको छ । विदेशमा ३० राजदूतावास, तीन स्थायी मिसन, छ वाणिज्य दूतावास र ७१ वटा महावाणिज्य दूतावास छन् । न्यून कर्मचारीको समस्या रहे पनि सरकारसँगको कार्यसम्पादन मूल्याङ्कनमा ९९ प्रतिशत अङ्क ल्याउन मन्त्रालय सफल रहेको परराष्ट्र सचिव शङ्करदास बैरागी बताउनुहुन्छ ।

सचिव बैरागी भन्नुहुन्छ, “सरकारले दिएको स्रोतसाधनबाट हामीले आफ्नो लक्ष्य भेट्न सफल भएका छौँ, मेहनत पनि परेको छ, हरेकले खटेर काम गरेका छन् ।” लक्ष्य तय गर्दाखेरी नै आफूले सक्ने किसिमले गर्नु र त्यो समयभित्र सक्नु नै मन्त्रालयको सफलता भएको उहाँ बताउनुहुन्छ । मन्त्रालयभित्र काम गर्ने प्रतिबद्धताका साथ प्रस्ट लक्ष्य बोकेर भएको सामग्रीजन्य स्रोत र बौद्धिक स्रोतको उच्चतम प्रयोग नै सफलताको मुख्य सूत्र रहेको उहाँको ठहर छ । नेपालको पहिलो आईएसओ प्रमाणपत्र पाउने विभाग परराष्ट्र मन्त्रालयकै राहदानी विभाग हो, जसले समयभित्र आफ्ना सेवा प्रवाह पूर्णदक्षताका साथ गरेकाले नै त्यो अहिलेसम्म कायम राख्न सफल छ ।

मन्त्रालयको मुख्य सफलता गएको आर्थिक वर्षदेखि यस आर्थिक वर्षको सुरुआती छ महिनामा भएको उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई मन्त्रालयले मुख्य सफलता मानेको छ । सो क्रममा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मुख्य मानिन्छ ।
त्यस्तै चौथो बिम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नु अर्को सफलता हो । साझेदार राष्ट्र र सङ्घ संस्थासँग गहिरो सम्बन्ध विस्तार गर्ने सफलता प्राप्त गरेको छ । संयुक्त राष्ट्रसङ्घ, असंलग्न राष्ट्र, जी ७७, विश्व व्यापार सङ्गठनसहित क्षेत्रीय संस्थाहरू सार्क, बिम्स्टेक, एसीडीलगायतसँग सक्रिय निकटता बढाउने कार्य सफलतापूर्वक भएको मानिएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति र सुरक्षाका लागि शान्ति सेना पठाउने १४ मिसनमध्ये उत्कृष्ट पाँचौँ राष्ट्रका रूपमा नेपाल रहनु, विश्वव्यापी मानव अधिकार संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदान, वैदेशिक रोजगारसम्बन्धी कोलम्बो प्रोसेसमा अध्यक्षता गर्नु मन्त्रालयका अन्य सफलता हुन् । यस्तै शान्ति स्थापना आयोगमा सन् २०१८ देखि २०२० सम्मका लागि सदस्यता प्राप्त गर्नु, आईएलओको बोर्डमा सन् २०१७ देखि २०२० सम्मका लागि नेपाल उपसदस्य चयन हुनु र यूएन ओमनको कार्यकारी सदस्य चयन हुनुका साथै सिड कमिटीको सहअध्यक्ष बन्नु मन्त्रालयले अर्को सफलता भनेर उल्लेख गरिएको छ । राहदानी विभागको सेवा प्रवाहतर्फ गत आर्थिक वर्षमा कुल पाँच लाख १५ हजार १४६ राहदानी वितरण गर्न सक्यो । जसमा सामान्य राहदानी पाँच लाख १३ हजार ३८ वितरण भयो । कार्यालय प्रयोजनका राहदानी एक हजार २३५ र कूटनीतिक राहदानी ७४१ थान वितरण भए । कन्सुलर सेवातर्फ दुई लाख ६३ हजार ७५४ कागजपत्र सिफारिस भएका थिए ।

सगरमाथा संवादको घोषणा परराष्ट्र नीतिमा राष्ट्रिय संवाद गरेर मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई साँघुरो घेराबाट बाहिर ल्याउन सफल बन्यो । आफैँ विश्वव्यापी समस्या समाधानको उपाय खोजी गर्न सगरमाथा संवादको घोषणा ग¥यो । जसले आउँदो मार्चमा विश्वव्यापी जल्दोबल्दो समस्या समाधान गर्न नेपाललाई एउटा मञ्चका रूपमा विश्वमा उभ्याउँदै छ । मन्त्री ज्ञवालीले भन्नुहुन्छ, “नेपालसँग जे छ सम्भावना छ, त्यो प्रस्फुटन भइरहेको छैन, त्यसैले स्थायी मञ्च खडा गरेर विचार निर्माणका लागि उपयोग गर्न खोजेका छौँ ।” विदेश पलायन भएको सीप र ज्ञानको सदुपयोग गर्न ब्रेन गेन सेन्टरको स्थापना गरी विज्ञलाई नेपालको विकास र समृद्धिमा जोड्ने अभियान मन्त्रालयले थाल्यो । जसमा हालसम्म विदेशमा रहेका ६४२ नेपाली विज्ञले आफ्नो उपस्थिति दर्शाइसकेका छन् ।

प्रवासमा रहेका प्रतिभाका रुचिका क्षेत्र पहिचान गरेर विभिन्न योजनामा सामेल गराउने कार्यसमेत थालनी भइसकेको छ । गुल्मी र गोरखाका शिक्षा क्षेत्रको सुधारमा विदेशी विज्ञले कामसमेत थालिसकेका छन् । चितवन र पोखरामा थप कार्यक्रमसमेत अघि बढिरहेको मन्त्रालयले जनाएको छ । विभिन्न देशसँग सम्बन्ध बलियो बनाउन देशगत रणनीतिका साथ अघि बढ्ने मामलामा पनि मन्त्रालयको सक्रियता उच्च देखिन्छ । कुन देशसँग कुन क्षेत्रको विकाससँग जोडेर अघि बढ्ने भन्ने मार्गनिर्देशन त्यस रणनीतिले गर्ने नीति योजना महाशाखाका प्रमुख कुमारराज खरेलले बताउनुभयो ।

प्रतिस्पर्धी क्षमताको विकास जनशक्ति अभाव रहे पनि आफ्नो काम समयमै पूरा गर्न भएका कर्मचारीलाई प्रोत्साहित गर्नका लागि विभिन्न गतिविधि मन्त्रालयले गरेको छ । आपसी कार्यसम्झौतामार्फत कर्मचारीलाई प्रतिस्पर्धी बनाइएको छ । मन्त्रालयमार्फत विदेशमा नेपालको सम्पत्ति वृद्धि गर्न विभिन्न राजदूतावास र नियोगलाई जग्गा किन्न, घर बनाउन बजेट उपलब्ध गराइएको छ ।