कांग्रेस प्रवक्ता शर्मा भन्छन् – ‘दुई दिन भित्र नेविसंघ तदर्थ समिति’

प्रकाशित मिति:

                                                                            ♦ छापामार शैलीमा झ्यामझ्याम काम हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल विद्यार्थी संघको तदर्थ समिति २ दिनभित्रै गठन हुने बताएका छन्।

शीर्ष तहका नेताबीच नेविसंघको कार्यसमिति गठनका विषयमा समेत छलफल भएको बताए।

सभापति शेरबहादुर देउवा निवासमा शीर्ष तहका नेता बीच पार्टीभित्रको विवाद अन्त्य गर्न बुधबार छलफल भएको थियो।

थप छलफलका लागि शुक्रबार पनि बैठक बोलाइएको छ। शीर्ष तहका नेताहरुबीच हुने छलफलले नेविसंघ गठन गर्ने प्रवक्ता शर्माले जानकारी गराए।

‘१/२ दिनमा नेविसंघले नेतृत्व पाउँछ,’ प्रवक्ता शर्माले नेपाल लाइभसँग भने, ‘आन्तरिक विवाद थाती राखेर स्ववियू निर्वाचनमा नेविसंघ केन्द्रित हुन्छ।’

पार्टीभित्र नेविसंघ उमेर हद कायम गर्नुपर्ने र गर्न नहुने पक्षमा मत विभाजित छ। तदर्थ समिति ३२ वर्ष उमेर हद कायम गरी आउने/नआउनेमा प्रवक्ता शर्माले खुलाएनन्।

प्याकेजमा सहमति गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको प्रस्तावअनुसार अन्य विवादका साथमा नेविसंघ गठनको मुद्दा पनि सम्बोधन हुने बताइएको छ।

फागुन १५ मा त्रिवि कार्यकारी परिषदले स्ववियू निर्वाचनको मिति तोकिएको छ।

तर, कांग्रेसले भ्रातृ संस्था गठन नगर्दा स्ववियू निर्वाचनमा संगठन परिचालन हुन सकेको छैन। प्रवक्ता शर्माले भने, ‘गठनपछि छापामार शैलीमा झ्यामझ्याम काम हुन्छ।’

सरकारको कार्यशैली प्रति जनमत निर्माणका लागि पनि महत्वपूर्ण समय भएकाले उल्लेख गर्दै उनले भने, ‘स्ववियू निर्वाचनमा आन्तरिक विवादलाई बिर्सेर नेविसंघ परिचालन हुन्छ।’

नैनसिंह महरको नेतृत्वमा रहेको नेविसंघ कार्यसमितिलाई गत माघमा माउ पार्टीले विघटन गरेको थियो।

पार्टी भित्रका गुटका आन्तरिक स्वार्थले भ्रातृ संस्था नेविसंघ गठन नभएकोे एक वर्ष पुगेको छ।