नागरिककाे कमाइभन्दा धेरै कर असुले स्थानीय तहले

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


विराटनगर –  ताप्लेजुङको फुङलिङ नगरपालिकाकी चन्द्रकला श्रेष्ठका नाममा रहेको साढे ९ रोपनी जमिनको एकीकृत सम्पत्ति कर १० हजार २ सय रुपैयाँ थियो । पुस मसान्तसम्म तिरे छुट हुने भएकाले उनका छोरा राजेन्द्र र भूपेन श्रेष्ठले ९ हजार ५ सय रुपैयाँ तिरे । उनीहरूले गत वर्ष यही जग्गाको कर २ हजार ९ सय रुपैयाँ तिरेका थिए ।नगरपालिकाको भिन्तुनाडाँडा क्षेत्रमा रहेको जग्गाको वार्षिक कर चन्द्रकला आफैंले तिर्ने हो भने सक्दिनन् । उनको यो जमिनमा नगरपालिकालाई कर तिर्न पुग्ने बराबरको पनि अन्न उत्पादन हुँदैन । अन्नबाहेक अरू खेती लगाउने उपाय पनि छैन ।कर तिर्नका लागि चन्द्रकलाले घडेरीका रूपमा जग्गा बेच्नुपर्छ ।

‘मन्दीका कारण अहिले घडेरी पनि बिक्दैन,’ छोरा राजेन्द्रले भने, ‘नगरपालिकाको कर त अति नै भयो ।’ उनले यत्तिका कर आफूहरूले वार्षिक रूपमा तिर्न नसक्ने जानकारी नगरपालिका प्रमुखदेखि प्रशासकीय अधिकृतसम्मलाई गराएको बताए ।छिमेकी गणेश दाहालले पनि आफ्नी आमाका नाममा रहेको जमिनको कर १७ हजार एक सय रुपैयाँ बुझाए । उनले गत वर्ष तीन हजार एक सय रुपैयाँ तिरेका थिए । दाहाल प्रत्येक आर्थिक वर्ष सुरु हुनासाथ जग्गाको कर बुझाउँथे । यो वर्ष पनि समयमै गएका उनी करको दर सुनेर जिल्ल परे । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया