दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ

प्रकाशित मिति:

काठमाडौं– गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको पुष्टि गरे ।

‘उहाँ (गुरुङ)विरुद्ध बैंकिङ्ग कसुर र ठगीसँग सम्बन्धित उजुरीहरु परेका छन् । अहिले हामीले बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ डिएसपी केसीले खबरहबसँग भने, ‘उहाँले १ जना व्यक्तिबाट सामान किनेर नगद पैसा नदिइ चेक दिएको र चेक पनि बाउन्स भएको भेटिएको छ ।’

प्रहरीले गुरुङलाई पोखराको गैरापाटनबाट पक्राउ गरेको हो । गुरुङले बुधबार मात्रै दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए ।