कांग्रेसभित्रको विवाद समाधान , निर्वाचन कार्यतालिका हेरफेर हुने

प्रकाशित मिति:

काठमाडौं   : नेपाली कांग्रेसको अर्को वर्ष फागुन ७ -१० मा हुने १४ औं महाधिवेशनको तल्लो तहका निर्वाचनको कार्यतालिका हेरफेर हुने भएको छ।

बहुमतका आधारमा एकलौटी रुपमा महाधिवेशनको मिति तोकेको, विधानका धारा निलम्बन गरेको, विधानविपरीत विभागको संख्या बढाएर २८ बाट ४७ पुर्‍याएको भन्दै  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले बैठक बहिष्कार गर्दै आएका थिए।

शुक्रबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संस्थापन पक्ष र पौडेल समूहका शीर्ष नेताहरुबीच १४ औं महाधिवेशन फागुन ७ मा गर्ने गरी तल्लो तहका निर्वाचनको कार्यतालिका हेरफेर गर्ने सहमति भएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार केन्द्रीय महाधिवेशनलाई असर नगर्ने गरी तल्लो तहका निर्वाचनको कार्यतालिका हेरफेर गरिने छ।

यस्तै, क्रियाशील सदस्यता छानविन गर्न छानविन समिति पनि गठन गर्ने सहमति भएको डा. महतले जानकारी दिए। उनका अनुसार समिति सहमतिमै गठन गरिनेछ। यस्तै, नेविसंघ गठन, विभाग गठन लगायतका विषयमा पनि सहमति भएको उनले बताए। सहमतिसँगै पौडेल समूह माघ १३ गते बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछ।