प्रदेश ५ को राजधानी बुटवल : सचेतक खाण

१० माघ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
93 Shares


बुटवल  – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने कुरा नसोच्न मुख्यमन्त्री र सभामुखलाई आग्रह गरेका छन् । उनले बुटवललाई अस्थायी राजधानी लहडका भरमा नतोकिएको उल्लेख गर्दै यहांबाट सार्ने प्रयत्न भए असहज परिणाम आउने चेतावनी दिए । ‘हुन त यो प्रदेशसभाको अधिकार क्षेत्रको कुरा हो,तर दलको निर्णयका आधारमा हुने भएकाले प्रदेशका मुख्यमन्त्री,सभामुख र प्रदेश सांसदहरुलाई आग्रह गर्छु,अहिलेको राजधानी बदल्न नखोजौं’– रुपन्देहीको मणिग्राममा दोस्रो औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै खांणले भने–‘बुटवलबाट दायाबाया गर्ने र अल्झाउने काम भए यसले सहज परिणाम ल्याउंदैन अन्तराष्ट्रिय पहिचान र तागत बोकेको लुम्बिनी, सुरक्षा व्यवस्था,अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, शिक्षा,स्वास्थ्य, यातायातको सुगमता आदि पर्याप्त पुर्वाधारका आधारमा प्रदेश राजधानी बुटवलको विकल्प सोच्न नसकिने खांणले तर्क गरे । अन्य प्रदेशहरुले स्थायी राजधानी पाइसकेकाले अब प्रदेश ५ ले पनि ढिला नगरी बुटवललाई निरन्तरता दिनुपर्ने उनले बताए । ‘अब जनतालाई अल्मल्याउने काम गर्न हुंदैन’–खांणले भने–‘ यसले जनता, प्रदेश र देशलाई नै हित गर्दैन ।’ भुगोलका आधारमा मध्य भागमा नै राजधानी हुनुपर्छ भन्ने मान्यता उचित नभएकोर अन्य प्रदेशको पनि मध्य भागमा राजधानी नभएकाले प्रदेश ५ का हकमा पनि बुटवलबाट दायांबाया नगर्न खांणले आग्रह गरे ।

सरकारले मिडिया काउन्सील,सूचना प्रविधि,सम्पत्तिको हक, ,गोपनियताको हक, मानवअधिकार लगायत जनताका अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक कुण्ठित गर्ने खालका विधेयकहरु ल्याएर निरंकुश बन्न खोजेको खांणले आरोप लगाए । नेपाली जनताले अब कुनै पनि खालको निरंकुशता स्वीकार नगर्ने स्पष्ट पार्दै आफूलाई मालिक र जनतालाई सेवक ठान्ने सोंच र व्यवहार बदल्न सरकारलाई आग्रह गरे । सरकारले संविधानको प्रतिकूलतामा काम गर्न खोजेर संविधान उल्लंघनको प्रयास गरेको भन्दै खांणले संविधान विपरित नजान सुझाव दिए । मुलुकमा लगानीमैत्री वातावरण बनाउने र लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएपनि वर्तमान सरकारबाट यी काम हुन नसकेको र उद्योगी व्यवसायी निराश भएको खांणले उल्लेख गरे । तिलोत्तमा नगरपालिका रुपन्देहीको मध्य भागमा रहेकाले सुन्दर भविष्यलाई दृष्टिगत गरी योजनावद्ध विकासको गतिमा अघि बढ्न खांणले आग्रह गरे । प्रदेश सभा सदस्य रमा अर्यालले सरकारले नीजि क्षेत्र र जनताका अधिकार कटौति गर्दै निरंकुश बाटोमा अघि बढ्दा लगानीमैत्री वातावरण बन्न नसकेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा क्षेत्र लगानीका लागि भर्जिन ल्याण्ड रहेको उल्लेख गर्दै लगानीकर्तालाई रोजगारी र लगानीका आधारमा कर छुट लगायत सुविधा दिइएको बताए । उनले तिलोत्तमामा कृषि,उद्योग र पर्यटनको प्रचूर संभावना रहेको बताए ।स्थानीय उत्पादनको बजार प्रवद्र्धन र मेला महोत्सव आयोजना गर्न नगरपालिकाले स्थायी प्रदर्शनी स्थलका लागि जग्गा उपलब्ध गराउन तत्पर रहेको बताए ।

महोत्सव आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले मेला सञ्चालनका लागि आफ्नै जग्गा र स्थायी संरचना नहुंदा जग्गा र अस्थायी संरचनामा हरेक वर्ष लाखौं रुपैयां अनुत्पादक रुपले खेर गइरहेको गुनासो गरे । उनले स्थानीय उत्पादनको बजारिकरण, कृषि र पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न ‘तिलोत्तमामा लगानी समृद्धिको सुनौलो बिहानी’ नारा तय गरिएको बताउंदै महोत्सवले लगानीमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । महोत्सव उद्घाटनका अवसरमा पुर्वमन्त्री अब्दुल रज्जाक, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल,व्यवसायी बालकृष्ण भुसाल,तिलोत्तमा च्याम्बर अफ कमर्सका अध्यक्ष जेपी कंडेल,तिलोत्तमा ५ का अध्यक्ष चेतनारायण भण्डारी,संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की,महासचिव कमलप्रसाद कंडेल लगायतले आफ्ना धारणा राखेका थिए । महोत्सव उद्घाटनअघि मंगलापुरचोक र नयांमिलचोकबाट ६० बढी संघसंस्थाको सहभागितामा ¥याली निकालिएको थियो । माघ २१ गतेसम्म चल्ने महोत्सवमा तीन सय स्टल रहेका छन् । महोत्सव पांच लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ । महोत्सवमा शनिबारदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र सांगीतिक कार्यक्रम सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया