४।६ अर्ब मानिसभन्दा धनी छन् विश्वका २१ सय ५३ अर्बपति

प्रकाशित मिति:

विश्वका धनी एक प्रतिशतसँग संसारका बाँकी मानिसभन्दा दोब्बर बढी सम्पत्ति भएको अक्सफामले जनाएको छ। संस्थाले सरकारहरूलाई असमानता घटाउने नीति अवलम्बन गर्न आह्वान गरेको छ।

डेभोसमा वर्ल्ड इकोनोमिक फोरम हुनुअघि प्रकाशित एउटा प्रतिवेदन अनुसार संयुक्त अधिराज्यस्थित च्यारिटी संस्था अक्सफामले सरकारहरूले धनी व्यक्ति र कर्पोरेसनलाई अत्यधिक कर छुट दिएको र सार्वजनिक संस्थामा आवश्यकताभन्दा थोरै लगानी गरेको जनाएको छ।

अक्सफामको “टाइम टु केयर” प्रतिवेदनले लिङ्गकै आधारमा आर्थिक असमानता भएको पनि उल्लेख गरेको छ। महिला र बालिकालाई स्याहार सुसारको असमान जिम्मेवारीको भार र थोरै आर्थिक अवसर दिइएको संस्थाले जनाएको छ। विश्वका ४.६ अर्ब मानिसभन्दा २,१५३ अर्बपतिको सम्पत्ति बढी छ त्यसैले “आर्थिक असमानता नियन्त्रणभन्दा बाहिर छ।”

“हाम्रो भत्किएको अर्थतन्त्रले अर्बपति र ठूला व्यवसायीको खल्ती भरिरहेको छ जसको मूल्य सामान्य मानिसले चुकाउनु परेको छ,” अक्सफाम भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ बेहरले भने,“त्यही भएर मानिसहरूले अर्बपतिको अस्तित्वमाथि नै प्रश्न उठाउन थालेका छन्।’

अर्बपतिको सम्पत्ति

विश्वकै धनी तीन जनाले गएको दशक२३१ बिलियन अमेरिकी डलर सम्पत्ति जोडेको ब्लुमबर्गले जनाएको छ।

फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग विश्वकै पाँचौं धनी व्यक्ति हुन्। पोहोर उनको सम्पत्ति सबैभन्दा धेरै बढ्यो। उनले झण्डै ६ बिलियन अमेरिकी डलर नाफा कमाए। अमेजन डट कमका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस ११६ बिलियन अमेरिकी डलरसहित विश्वकै धनी व्यक्ति हुन्।

ब्लुमबर्ग वेल्थले जनाए अनुसार सन् २०१२ यता शीर्ष २० जना अर्बपतिको कुल सम्पत्ति ६७२ बिलियन अमेरिकी डलरबाट दोब्बर बढेर १,३९७ बिलियन अमेरिकी डलर पुगेको छ। इजिप्टको पिरामिड बनेको समयमा दिनको १० हजार अमेरिकी डलर बचत गर्ने व्यक्तिसँग आजको मितिसम्म विश्वका शीर्ष पाँच धनीको औसत समपत्तिको पाँच भागको एक भाग मात्रै हुन अक्सफामले जनाएको छ।

अक्सफामका आलोचकले प्रतिवेदनको तथ्याङ्कलाई भ्रामक बताएका छन्। समस्यालाई प्रतिवेदनले अतिरञ्जित गरेको उनीहरू बताउँछन्। संस्थाले आफ्नो विश्लेषणलाई बारम्बार बचाउ गर्दै र त्यस्ता आरोपलाई चुनौती दिँदै आएको छ।

संस्थाको वार्षिक तथ्याङ्क क्रेडिट सुइसको ग्लोबल वेल्थ रिपोर्टमा आधारित छ। अक्सफाम आफैंले पनि त्यसको तथ्याङ्कको गुणस्तर कमजोर भएको र सम्पत्तिको असमानतालाई कम आँकलन गरेको हुनसक्ने बताएको छ।

चरम गरिबी

विश्व बैंकको अनुसन्धानलाई उद्धृत गर्दै असमानता घटाए आर्थिक वृद्धिभन्दा चरम गरिबी न्यूनीकरणमा ठूलो योगदान पुर्याुउने अक्सफामले जनाएको छ। देशहरूले प्रत्येक वर्ष एक प्रतिशतले आम्दानीको असमानता घटाए सन् २०३० सम्म दश करोड थोरै मानिस चरम गरिबीमा बाँचिरहेको हुने विश्लेषणको निष्कर्ष छ।

वाशिङ्टनस्थित विश्व बैंकको तथ्याङ्कले दुई दशकयता चरम गरिबी नाटकीय रूपमा घटेको देखाएको छ। सन् १९९० मा दैनिक १.९० अमेरिकी डलरमा बाँच्ने जनसंख्या १.१ अर्बले घटेको तथ्याङ्कले देखाउँछ। तर केही देशमा गरिबी न्यूनीकरण सुस्त भएको वा उल्टिएको पनि विश्व बैंकले चेतावनी दिएको छ।

सन् २०१५ मा ७३ करोड ६० लाख जनसंख्या अझै चरम गरिबीमा थिए। तीमध्ये आधाभन्दा धेरै सब सहारन अफ्रिकामा बस्छन्। काठमाडौप्रेस वाट साभार