मणिग्राम मेलामा दोस्रो दिन १५ हजार दर्शकले गरे अवलोकन

११ माघ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
86 Shares


तिलोत्तमा  – तिलोत्तमाको मणिग्राममा बिहीबारदेखि सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दोस्रो दिन करिब १५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले मेलामा तिलोत्तमा नगरपालिका र आसपासका क्षेत्रबाट दर्शकको उत्साहजनक उपस्थिति रहेको मेला आयोजक तिलोत्तमा वाणिज्य संघका महासचिव कमलप्रसाद कंडेलले जानकारी दिए । ‘तिलोत्तमामा लगानी : समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा सञ्चालित ब्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवमा शनिबारदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि शुरु भएको छ । सांस्कृतिक कार्यक्रम तर्फ तिलोत्तमा लोकतारा २०७६ शुरु भएको छ । उक्त लोक गाउन प्रतियोगितामा अडिसनबाट छनोट भएका उत्कृष्ट १० जनाले आफ्नो प्रस्तुति दिएका छन् । प्रतियोगितामा निर्णायकको ५० अंक, दर्शक भोटको ४० प्रतिशत र यु ट्युब भ्युअर्सको १० प्रतिशतका आधारमा विजेता घोषणा गरिने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले बताए । विजेताले ४१ हजार,उपविजेताले २५ र तृतीयले १५ हजार नगद पुरस्कार पाउनेछन् ।स्वदेशी र विदेशी गरी तीन सय स्टल रहेको मेलामा मुख्य

आकर्षणमा गोरुले पेलेर बनाइने खुदो,मण्डलमत्स्य ह्याचरीको माछा पोखरी,परम्परागत कृषि औजार, महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने टेलिकमको निःशुल्क प्रिपेड सिम वितरण र चाउचाउको सुप निःशुल्क वितरण रहेका छन् । मेलामा आइतबारदेखि अन्तर स्कुल÷कलेज फाइभ ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने छ । जानकीनगर क्लबले व्यवस्थापन गरेको प्रतियोगितामा रुपन्देही जिल्लाका स्कूल र कलेज गरी २५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता उद्घाटन अघि मेला आयोजक र रुपन्देहीका पत्रकारबीच दिउसो १२ बजे मैत्रीपूर्ण खेल हुने छ । महोत्सवमा आइतबार लोकदोहोरी गायक नवीन पौडेल,शिलु भट्टराई,रेनु राना र हास्य कलाकार विष्णुजी पाडे माइलाबाको प्रस्तुती रहने आयोजकले जनाएका छन् । आइतबार देखि नै तिलोत्तमा डान्स आइकनमा छनोट भएका उत्कृष्ट १० जनाको प्रस्तुति रहने छ । माघ २१ गतेसम्म चल्ने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष माधव भण्डारीले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गर्न शुरु भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया